वैदेश पठाइदिन्छु भन्दै ठूलो रकम ठगी गर्ने ५ जना पक्राउ

काठमाडौं । वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा ५ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरूमा काठमाडौंको बुढानिलकण्ठ नगरपालिका–११ बस्ने ४६ वर्षीय कृष्णकुमार खड्का, ललितपुरको महालक्ष्मी नगरपालिका–२ बस्ने सिन्धुली घर भएका ४० वर्षीय भागीरथी पराजुली गौतम, काठमाडौंको बुढानिलकण्ठ नगरपालिका–९ बस्ने सुनसरी घर भएका ३० वर्षीय प्रवेश पराजुली, काठमाडौं महानगरपालिका–६ बस्ने ३९ वर्षीय प्रज्वल आचार्य र काठमाडौंको बुढानिलकण्ठ नगरपालिका–१० बस्ने झापा घर भएकी ४७ वर्षीया निसा सिवा रहेको प्रेस विज्ञप्तिमा उल्लेख छ ।

पक्राउमध्ये कृष्णकुमार र भागीरथीले क्रोएशिया, ग्रिस लगायतका देशहरू पठाइदिन्छु भन्दै १४ जना पीडितहरूबाट ५८ लाख ६८ हजार रूपियाँ ठगी गरेका छन् ।

प्रवेशले सर्बिया पठाइदिन्छु भन्दै ४ जना पीडितहरूबाट १८ लाख ९० हजार रूपियाँ, प्रज्वलले अमेरिका पठाइदिन्छु भन्दै १ जना पीडितबाट ३१ लाख रूपियाँ र निसाले कोरिया पठाइदिन्छु भन्दै १ जना पीडितबाट १ लाख ५ हजार रूपियाँ लिई सम्पर्कविहीन भएका थिए ।

पीडितहरूको उजुरीको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय, टेकुबाट खटिएको प्रहरीले कृष्णकुमार र भागीरथीलाई ललितपुरको महालक्ष्मी नगरपालिका–२ इमाडोलबाट सोमबार तथा प्रवेशलाई ललितपुर महानगरपालिका–१०, प्रज्वललाई काठमाडौं महानगरपालिका–७ बाट र निसालाई काठमाडौं महानगरपालिका–१६ बाट शुक्रबार पक्राउ गरेको प्रहरीले जनाएको छ ।

उनीहरूलाई आवश्यक अनुसन्धान तथा कारबाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको छ ।

Published : Monday, 2026 June 1, 10:12 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया