योगी नरहरिनाथ आश्रमलाई सुविधासम्पन्न धर्मशाला बनाउने छौं : मुख्यमन्त्री बानियाँ

भरतपुर । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले चितवनको आँपटारीस्थित योगी नरहरिनाथ आश्रम, वागीश्वरीमा सुविधासम्पन्न धर्मशाला निर्माण गरिने बताएका छन् ।

शनिबार आफ्ना दुई मन्त्रीहरूसहित कोटिहोम महायज्ञको दर्शन गर्न पुगेका मुख्यमन्त्री बानियाँले धर्मशालालाई सुविधान सम्पन्न बनाउन पहल गरिने बताएका हुन् ।

मुख्यमन्त्री बानियाँले भने, ‘देश विदेशबाट आउने भक्तजनहरु पनि बस्न मिल्ने खालको लिफ्टसहितको धर्मशाला निर्माण गर्नुपर्नेछ । कथा प्रवचन गर्नका लागि एउटा राम्रो भवनको पनि अभाव रहेछ । यतिराम्रो आध्यात्मिक क्षेत्र छ, यसको समग्र विकास गर्न आउँदो बजेटमा बागमती प्रदेश सरकारले विशेष व्यवस्था गर्नेछ ।’

उनले उमेर, शक्ति र पद सँधै नरहने बताएका छन् । उनले धार्मिक पर्यटन प्रवर्द्धनको लागि प्रदेश सरकारले सक्दो काम गर्ने बताए । ‘देवघाट नजिकै छ, मर्ने बेलामा कात्रोमा खल्ती पनि हुँदैन । यो विचार गरेर तपाईहरूले ध्यान दिनुहोला । प्रदेश सरकारले पनि ध्यान दिनेछ’, उनले भने ।

सनातनी परम्परा र संस्कृतिको संरक्षण गर्न महायज्ञले ठूलो भूमिका खेल्ने मुख्यमन्त्री बानियाँले बताएका छन् ।

वागीश्वरीलाई धार्मिक पर्यटकिय स्थलका रुपमा विकास गर्ने उद्धेश्यले प्रदेश सरकारले धर्मशालाको पूर्वाधार विकासमा दुई करोड रुपियाँ खर्चिसकेको बताए । धार्मिक आस्थाकै कारण योगी नरहरिनाथको तपोभूमिमा आफुहरु आएको बताउँदै उनले भारतको प्रयागराज भन्दा देवघाटधाम धेरै पुण्यभूमि रहेको बताए ।

मुख्यमन्त्रीसँगै बागमती प्रदेशका पर्यटन तथा संस्कृतिमन्त्री सुरेश श्रेष्ठ र सहकारी तथा गरिबी निवारणमन्त्री विनु रायमाझी पौडेल पनि पुगेका थिए । मन्त्री पौडेल योगी नरहरिनाथ आश्रमको सदस्य पनि हुन् ।

कोटिहोम महायज्ञमा शनिबारदेखि भजन प्रतियोगिता शुरु भएको छ । प्रतियोगिताको पहिलो दिन पाँच वटा समूह सहभागी भए । पाँचमध्ये तीन वटा समूह फाइनलको लागि छनौट भए । प्रतियोगितामा सहभागी हुनका लागि ३८ वटा समूहले नाम टिपाएको संयोजक अर्जुन सापकोटाले जानकारी दिए । प्रतियोगिताको फाइनल यहि जेठ ३० गते हुनेछ ।

प्रतियोगितामा हरेक दिन पाँच–पाँच वटा टिमको भजन प्रस्तुति हुनेछ । त्यसमध्येबाट उत्कृष्ट तीन–तीन वटा टिमलाई फाइनल राउण्डमा लगिने उनले बताए ।

प्रतियोगितामा प्रथम हुने टिमले २० हजार, दोस्रो हुने टिमले १५ हजार, तेस्रो हुने टिमले १० हजार र सान्त्वना हुने दुई टिमले सात–सात हजार रुपैयाँ प्राप्त गर्नेछन् । सहभागी सबै टिमले प्रमाणपत्र र खैजडी उपहार पाउनेछन् ।

राष्ट्र शान्ति र विश्व शान्तिकोे कामना गर्दै गत वैशाख १७ गतेदेखि सुरु भएको श्रीशिवगोरक्ष–योगीनरहरिनाथ–साङ्ग–कोटिहोम महायज्ञ आगामी असार १३ गते सम्पन्न हुनेछ । नौ वर्षमुनिका एक हजार आठ बालिकाको सामूहिक पुजन आगामी असार ६ गते र पाँचसरे सवा करोड दीप प्रज्वलन असार ८ गते गर्ने तय भएको महायज्ञ संयोजक एवम् मुख्यकर्ता प्रेमनीधि भारद्धाजले जानकारी दिए । महायज्ञमा प्रमुख वाचक ज्योतिष पण्डित परशुराम पाण्डेयले दैनिक भागवत कथावाचन गरिरहेका छन् ।

Published : Saturday, 2026 May 30, 8:55 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया