वी.पी.का जुत्ता सर्कसमा नलगाउन गगनलाई केदार कार्कीको चेतावनी

काठमाडौं । नेपाली कांग्रेसका नेता केदार कार्कीले नवयुवाको आकर्षण पार्टी र भ्रातृ संस्थामा दास निर्माण गरेर सम्भव नहुने बताएका छन् ।

नेता कार्कीले सामाजिक सञ्जालमार्फत संगठनमा जिम्मेवारी दिँदा “कांग्रेस २.०”मा आम कार्यकर्ताले न्यायको अनुभूति गरेका छन् त ? भनेर प्रश्न गरेका छन् । उनले प्रश्न गर्दै भने, ‘दास खोज्ने परिपाटी नै के नवीन कांग्रेसको विशेषता हो ? कि पुराना वैचारिक नेतृत्वप्रति घृणा ?’

कांग्रेस नेता कार्कीले भने, ‘आउँदै गरेका निर्वाचनमा कसरी जाने ? कांग्रेसले नेतृत्व गरेका सरकारहरूले कसरी जनप्रिय काम गर्ने ? सुशासन र विकास कसरी पु¥याउने ? कार्यक्रम र बजेटलाई कसरी प्रभावकारी बनाउने ? पार्टीले देश निर्माणमा कसरी योगदान गर्ने ? लोकतन्त्रका मूल्य र पद्धतिलाई कसरी जीवित राख्ने ? अतिवादलाई कसरी डटेर सामना गर्ने र शासकलाई देश तथा जनताप्रति कसरी उत्तरदायी बनाउने ? यी सवालमा “२.०” कता छ ?’

‘इतिहास साक्षी छ । आस्था, विचार र समर्पणमाथि कारबाहीको लाठीले काम गर्दैन,’ उनले भने, ‘याद राख्नुस् थमादिया लाठी बन गया हवल्दार भन्ने हिन्दी उक्ति लोकतन्त्रमा, विचारको मैदानमा र निष्ठाको चौतारीमा असान्दर्भिक हुन्छ ।’

गगन थापाप्रति लक्षित गरेर नेता कार्कीले भने, ‘वी.पी.का जुत्ता सर्कसमा नलगाऔँ । अग्रजहरूले ज्यानको बाजी राखेर, पैदल हिँडेर, टीबीजस्ता घातक रोगको समेत पर्वाह नगरी दुःख, कष्ट सहँदै, लुक्दै–छिप्दै, मृत्युसँग संघर्ष गर्दै कांग्रेसको सदस्यता लिएका÷दिलाइएका थिए ।’

‘आज उहाँहरूको उमेर ढल्किएको छ, शरीर जर्जर भएको छ, अभाव र रोगले थलिएका छन् । तर, प्रजातान्त्रिक विचार र निष्ठाको ऊर्जा अझै तन्नेरी नै छ,’ उनले भने ।

‘जेल–नेल, मरणासन्न हुने गरी कुटपिट, सर्वस्व हरण हुँदा, परिवारका सदस्य कांग्रेस भएकै कारण मारिँदा, घरबारविहीन हुनुपर्दा पनि सतिसालझैँ अडिग भएर अन्यायविरुद्ध चारतारे झण्डा र रूख नछोड्नेहरूलाई आज हाम्रा गतिविधिले दुःखी बनाएको छ,’ कांग्रेस नेता कार्कीले भने ।

उनले भने, ‘पञ्चायतले, वाम घटकले, माओवादी अतिवादको आँधीले समेत हल्लाउन नसकेको रूखका जराहरूलाई पार्टी केन्द्रकै झगडा बल्झाएर आफ्नै नेतृत्वले कुन स्वार्थपूर्तिका लागि काट्न खोजिरहेको हो ? कार्यकर्तामा किन यति धेरै निराशा फैलाइएको हो ? पाका र अभिभावकीय भूमिकामा रहेका नेताहरूप्रति किन यति धेरै वितृष्णा पैदा गरिएको हो ?’

Published : Wednesday, 2026 May 27, 11:00 am

फेसबुकबाट तपाईको प्रतिक्रिया