घुस प्रकरणमा बयान फेरेपछि तीन जनाविरुद्ध अख्तियारद्वारा भ्रष्टाचार मुद्दा दायर

काठमाडौं । घुस प्रकरणमा अदालतमा बयान फेरेपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले तीन जना सरकारी साक्षीविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

मंगलबार अख्तियारले विशेष अदालत, काठमाडौंमा विचाराधीन घुस, रिसवत मुद्दामा अनुसन्धानका क्रममा दिएको बयान विपरीत अदालतमा बकपत्र गरेको भन्दै विप्लव पोख्रेल, प्रल्हाद गौतम र राजेश श्रेष्ठविरुद्ध आरोपपत्र दायर गरेको प्रेस विज्ञप्तिमा उल्लेख छ ।

आयोगका सहायक प्रवक्ता गणेशबहादुर अधिकारीका अनुसार विशेष अदालतमा दर्ता भएको प्रतिवादी ढुण्डीराज दाहाल रहेको भ्रष्टाचार मुद्दामा तीन जनालाई अनुसन्धानमा सहयोग गरेको आधारमा प्रतिवादी नबनाई सरकारी साक्षीका रूपमा प्रस्तुत गरिएको छ ।

उनीहरूले गत वैशाख २५ गते विशेष अदालतमा उपस्थित भएर अनुसन्धान अधिकृतसमक्ष दिएको बयानविपरीत बकपत्र गरेको पुष्टि भएपछि पुनः अनुसन्धान गरी उनीहरूविरुद्ध मुद्दा दायर गरिएको आयोगले जनाएको छ ।

भुक्तानी प्रक्रिया सहज बनाउन विप्लव पोख्रेलले आरएसभी मेटलको तर्फबाट २७ हजार ३५० रूपियाँ र अभियान्ता नेपालको तर्फबाट २९ हजार रूपियाँ गरी कूल ५६ हजार ३५० रूपियाँ घुस दिएको पुष्टि भएको छ ।

प्रल्हाद गौतमले शुभश्री टेक्नोलोजिज लगायतको तर्फबाट ३७ हजार ५०० रूपियाँ तथा राजेश श्रेष्ठले विप्लव पोख्रेलमार्फत २७ हजार ३५० रूपियाँ घुस दिएको अख्तियारले जनाएको छ ।

तीन जनाले दिएको कूल घुस रकम ९३ हजार ८५० रूपियाँ रहेको आयोगले जनाएको छ ।

Published : Tuesday, 2026 May 26, 11:02 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया