तीस लाख, सुन र खैरो हेरोइनसहित सिन्धुपाल्चोकका लामा पक्राउ

काठमाडौं । प्रहरीले लागुऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ, सुनका गरगहना र ३० लाख रुपियाँभन्दा बढी नगदसहित काठमाडौंबाट एक व्यक्तिलाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा सिन्धुपाल्चोकको चौतारा साँगाचोकगढी नगरपालिका वडा नं. ८ घर भइ हाल काठमाडौं महानगरपालिका वडा नं. १५ स्वयम्भू बुद्धपार्कस्थित डेरा कोठा गरी बस्ने वर्ष ४२ को कुमार लामा रहेको प्रहरीले जनाएको छ ।

लागुऔषध कारोबार भइरहेको भन्ने सूचनाको आधारमा प्रहरी वृत्त, स्वयम्भूबाट खटिएको प्रहरी टोलीले लामालाई डेरा कोठा तथा किराना पसल समेतबाट फेला परेको लागुऔषध, नगद र अन्य दसीका सामानहरू सहित नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।

लामाको साथबाट लागुऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ १२२ ग्राम ३३० मिलीग्राम, लागुऔषध नाईट्राभेट १०५ ट्याबलेट, लागुऔषध डाइजापाम २५ एम्पुल, लागुऔषध फिनार्गन लेखिएको २५ एम्पुल, लागुऔषध तौल गर्ने डिजिटल तराजु ३ थान, नेपाली नगद ३० लाख १७ हजार २४५ रुपियाँ बरामद भएको छ ।

सुनको जस्तो देखिने सिक्री १ थान, सुनको जस्तो देखिने औँठी ३ थान, सुनको जस्तो देखिने पोते १ थान, सिरिन्ज ८३ थान, चेकबुक २ थान, विभिन्न कम्पनीको मोबाइल तथा ट्याब ८ थान, चन्दनको जस्तो देखिने धुलो पदार्थ ८३ ग्राम पनि बरामद भएको प्रहरीले जनाएको छ ।

लामामाथि काठमाडौं जिल्ला अदालतबाट ५ दिन म्याद थप अनुमति लिएर प्रहरीले थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी पवनकुमार भट्टराईले जानकारी दिएका छन् ।

Published : Tuesday, 2026 May 26, 9:35 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया