भ्रातृ संस्थाहरूको टीके प्रथाको विरोध गर्दै सानेपामा नेविसंघद्वारा प्रदर्शन

काठमाडौं । नेपाल विद्यार्थी संघ (नेविसंघ)का नेता तथा कार्यकर्ताहरूले नेपाली कांग्रेसको भ्रातृ संस्थाहरूमा टीके प्रथाको विरोध गर्दै सांकेतिक रुपमा प्रदर्शन गरेका छन् ।

सोमबार सानेपास्थित नेविसंघका नेता तथा कार्यकर्ताहरूले केन्द्रीय कार्यालयमा लोकतान्त्रिक निर्वाचन अभ्यासको प्रतीकात्मक प्रदर्शन गरेका हुन् । प्राविधिक विद्यार्थी परिषद् (फोट्स)को नेतृत्वमा नेविसंघका नेता तथा कार्यकर्ताहरूले लोकतान्त्रिक निर्वाचन अभ्यासको प्रतीकात्मक प्रदर्शन गरेका हुन् ।

फोट्सका अध्यक्ष ईन्जिनियर पुष्करविक्रम शाहीले पार्टीको केन्द्रीय कार्यसमिति स्वयम् निर्वाचित नभई मनोनयन प्रक्रियाबाट आएको अवस्थामा लोकतान्त्रिक अभ्यास र निर्वाचन संस्कृतिलाई बिर्सेर भ्रातृ संस्थाहरूमा टीके प्रथा लादिएको विरोधमा सांकेतिक प्रदर्शन गरिएको बताए । उनले विरोधस्वरूप सानेपास्थित पार्टी कार्यालयमा लोकतान्त्रिक निर्वाचन अभ्यासको प्रतीकात्मक प्रदर्शन गरिएको बताए ।

नेविसंघको नेतृत्व चयनको प्रक्रियाबारे विद्यार्थीहरूले सानेपामा मतदान कार्यक्रम गरेका छन् । कांग्रेसको केन्द्रीय कार्यालय,, सानेपामा नेविसंघमा आगामी नेतृत्व ‘टीके कि मतदानबाट’ भन्ने विषयमा मतदान गरिएको विद्यार्थीहरूले बताएका छन् ।

भृकुटीमण्डप भेला अर्थात् कथित विशेष महाविधेशनबाट नेपाली कांग्रेस हाइज्याक गरेको समूहले भ्रातृ संस्थाहरू विघठन गरेर टीक अध्यक्ष मनोनयन शुरु गरिरहेका बेला नेविसंघका नेता तथा कार्यकर्ताहरूले प्रदर्शन गरेका छन् ।

Published : Monday, 2026 May 25, 4:02 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया