संसदमा प्रधानमन्त्री शाहको राजीनामा माग
काठमाडौं । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज राईले प्रधानमन्त्री वालेन्द्र शाहको राजीनामा माग गरेका छन् ।
बिहीबार सिंहदरबारमा बसेको प्रतिनिधि सभा बैठकको शुरुमै बोल्दै राईले प्रधानमन्त्री शाहले संसद्मा आएर जवाफ दिनुपर्ने बताए । उनले भने, ‘हाम्रो नियमावलीको नियमको १५ (२) अनुसार नेपाल सरकारको नेतृत्व प्रधानमन्त्रीज्यू सदनमा आएर माननीयहरुले उठाउनु भएका, सांसदज्युहरुले उठाउनुभएका प्रश्नको उत्तर दिनुपर्ने हो या होइन ? म एउटा प्रश्न राख्न चाहन्छु ।’
‘मैले २०८३ साल १ महिना २८ गते र २९ गते केही प्रश्नहरू राखेका थिए,’ राईले भने, ‘जो गृह मन्त्रालयसँग सम्बन्धित केही थिए, रक्षा मन्त्रालयसँग सम्बन्धित केही थिए ।’
सांसद राईले भने, ‘केही अन्य मन्त्रालयसँग सम्बन्धित प्रश्नहरू थिए । ती प्रश्नहरूको उत्तर प्रधानमन्त्रीले आएर दिनुपर्छ भन्ने म माग गर्दछु ।’
‘किनभने उहाँले अहिले मन्त्रिपरिषद विस्तार गर्नु भएको छैन,’ सांसद राईले भने, ‘गृह मन्त्रालयको जिम्मा पनि उहाँले लिईराखेको कारणले सुकुम्बासीलगायतका शान्तिसुरक्षासँग सम्बन्धित विषयमा पनि मेरो प्रश्नहरू थिए ।’
‘सीमासँग सम्बन्धित लिपुलेकसँग सम्बन्धित विभिन्न खालको प्रश्नहरू हामीले सोधेका छौं,’ राईले भने, ‘म लगायत अन्य सांसदज्यूहरूले । रक्षा मन्त्रालय पनि उहाँले सम्हालिरहेको कारणले गर्दाखेरी प्रधानमन्त्रीज्यू संसदमा आएर हामीले उठाएका प्रश्नको जवाफ दिनुपर्छ ।’
उनले कर्तव्य पूरा गर्न नसक्ने प्रधानमन्त्रीले मार्ग प्रशस्त गर्दा राम्रो हुने धारणा सुझाव दिएका छन् । ‘म प्रश्न गर्न चाहन्छु हाम्रो प्रधानमन्त्रीज्यूलाई– उहाँ यो पार्लियामेन्टको मेम्बर हो कि होइन ? यो देशमा पार्लियामेन्ट छ कि छैन ? हामी सबैले यो लोकतन्त्र, यो संसदको गरिमालाई हामीले जोगाई राख्नु पर्छ कि पर्दैन ? कर्तव्य पूरा गर्नु पर्छ कि पर्दैन ? म यो प्रश्न गर्न चाहन्छु,’ उनले भने ।
‘यदि उहाँ आफनो कर्तव्य पूरा गर्न सक्नु हुन्न भने उहाँले मार्ग प्रशस्त गर्दाखेरी राम्रो,’ सांसद राईले भने ।
सांसद राईले प्रधानमन्त्री शाहलाई संसद्मा उठेका प्रश्नको जवाफ दिनुपर्छ कि पर्दैन भनि पटक पटक प्रश्न समेत गरेका छन् ।
बिचार/ब्लग
मजदुरी गर्ने गरिबहरूले नेपालमै सस्तो सामान प्राप्त गर्ने वातावरण तयार गर्नु पर्छ : कांग्रेस नेता गुरुङ
कल्याण गुरुङ, नेता, नेपाली कांग्रेस

फेसबुकबाट तपाईको प्रतिक्रिया