निर्वाचनमा कांग्रेसलाई मत नै नहालेका मानिसहरूले पार्टी फुटको हल्ला चलाइरहेका छन् : सभापति बलायर
धनगढी । नेपाली कांग्रेस सुदूरपश्चिम प्रदेशका सभापति वीरबहादुर बलायरले पार्टीलाई एकताबद्ध गरेर लैजाने दायित्व नेतृत्वको भएको बताएका छन् ।
पार्टीको वृहत् एकता र पुर्नजागरणका लागि भन्दै जेठ १० गते धनगढीमा प्रदेश समितिको आयोजनामा हुने भेलाबारे जानकारी दिन बुधबार आयोजित पत्रकार सम्मेलनमा बोल्दै बलायरले पार्टी एकताबद्व गर्ने दायित्व सभापति गगनकुमार थापाको भएको बताएका हुन् ।
उनले सभापति थापाको नियत नै पार्टी फुटाउने भएमा एकता नजोगिने बताएका छन् । ‘हामीले फुटको लागि जागरण भेला गरिरहेका होइनौं । यदी नेतृत्व तहबाट पार्टी फुटाउन खोजिएको हो भने यसको कुनै औषधि छैन ।जोगाउन पनि सकिँदैन,’ बलायरले भने ।
‘विशेष महाधिवेशनबाट चयन भएका सभापति गगनकुमार थापाको कोर्टमा सबै कुरा छ । उहाँ सिंगो कांग्रेसको सभापति हुन चाहनुभएको छभने कुनै पनि हालतमा कांग्रेस फुटको संघारमा जाने स्थिति देखिँदैन्,’ सभापति बलायरले भने ।
सभापति बलायरले प्रतिनिधिसभा निर्वाचनमा कांग्रेसलाई मत नै नहालेका मानिसहरूले पार्टी फुटको हल्ला चलाइरहेको बताएका छन् । १४औँ महाधिवेशनबाट निर्वाचित पदाधिकारी तथा अन्य नेताहरूलाई अपमानपूर्ण व्यवहार भने सह्य नहुने उनले बताएका छन् ।
‘हामीले हिजोका पदाधिकारीलाई स्थापित गर्न भनेका छैनौँ । तर नेतृत्व गरेका नेताहरूको मानमर्दन गरिनुहुँदैन,’ उनले भने, ‘१५औँ महाधिवेशनको सुनिश्चितताका लागि हाम्रो एकता आवश्यक छ ।’
निवर्तमान सभापति शेरबहादुर देउवा समूहले काठमाडौंमा खोलेको सम्पर्क कार्यालयलाई फुटको रूपमा बुझ्न नहुने सभापति बलायरले बताए ।
सभापति बलायरले कांग्रेसलाई कसरी अघि बढाउन सकिन्छ भन्नेबारे छलफल र विचार मन्थन गर्न जेठ १० गते प्रदेशस्तरीय भेला आयोजना गरिएको बताएका छन् ।
‘सुदूरपश्चिम प्रदेशबाट आगामी दिनमा कांग्रेस कसरी अगाडि लैजाने भन्ने विषयमा छलफल गर्न हामीले कार्यक्रम राखेका छौँ,’ उनले भने, ‘नेतृत्वलाई केही दिनुपर्ने सुझाव लगायतका विषयमा कसरी अगाडि बढ्ने भन्ने विषयमा पनि छलफल हुन्छ ।’
कार्यक्रमलाई गुटको भेलाका रूपमा नलिन उनको आग्रह छ । विदेशमा रहेका निवर्तमान सभापति शेरबहादुर देउवाको चिन्ता पनि कांग्रेसलाई एकताबद्व कसरी राख्ने भन्नेमै रहेको बलायरले बताएका छन् ।
बिचार/ब्लग
मजदुरी गर्ने गरिबहरूले नेपालमै सस्तो सामान प्राप्त गर्ने वातावरण तयार गर्नु पर्छ : कांग्रेस नेता गुरुङ
कल्याण गुरुङ, नेता, नेपाली कांग्रेस

फेसबुकबाट तपाईको प्रतिक्रिया