इफ बट केही पनि छैन, नेताहरूलाई केही समय जिम्मेवारीमुक्त गराउँछु : गगन थापा

धनगढी । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीको आधिकारिक सदस्यले उम्मेदवार मन नपरेको भनेर रूखबाहेक अन्य चुनाव चिन्हमा मतदान गर्न नपाइने चेतावनी दिएका छन् ।

शनिबार कैलालीको धनगढीमा आयोजित ‘प्रदेश र स्थानीय तह केन्द्रित प्रदेशस्तरीय भेला’मा थापाले क्रियाशील सदस्यहरूले रूखबाहेकको चुनाव चिन्हलाई मतदान गर्न पाउने व्यवस्था आफ्नो शब्दकोशमा नभएको बताए ।

‘नेपाली कांग्रेसको क्रियाशील सदस्य हुने, कांग्रेसको नेता हुने, पार्टीका तर्फबाट सांसद बन्ने, मन्त्री बन्ने, पार्टीका तर्फबाट स्थानीय तहमा विभिन्न जिम्मेवारी लिने, वा कांग्रेस पार्टीको आधिकारिक सदस्य हुने,’ थापाले भने ।

‘तर यो चुनावमा मलाई उम्मेदवार मन परेन । त्यस कारणले गर्दा मैले अन्तै चिन्हमा भोट हाले भन्न पाइँदैन,’ थापाले चेतावनी शैलीमा भने, ‘त्यसको कुनै तर्क हुँदैन । पाइँदै पाइँदैन । मेरो डिस्नरीमा त्यो छैन ।’

कांग्रेसको मान्छेले चुनावको दिनमा रूख चिन्हबाहेक अर्को चिन्हको बारेमा सोँच्न पनि सक्दैन र सोँच्न पनि पाउँदैन भन्ने बुझाई राखेर आफू हुर्केको भन्दै थापाले अहिले पनि त्यही कुरा बुझ्ने गरेको बताए ।

थापाले पार्टीको जिम्मेवारीमा बसेर फागुन २१ गतेको निर्वाचनमा उम्मेदवारलाई असहयोग गरेको नेताहरूलाई केही समयका लागि जिम्मेवारीमुक्त गरिने चेतावनी दिएका छन् ।

‘हामी सबै जना प्रस्ट बनौँ,’ चेतावनी शैलीमा भने, ‘जसले यो निर्वाचनमा पार्टीको जिम्मेवारीमा बसेर पार्टीका उम्मेदवार असहयोग गर्नुभयो, उहाँहरूलाई पार्टीको जिम्मेवारीबाट केही समय बाहिर राख्नै पर्छ ।’

थापाले भने, ‘राखिन्छ । यसमा कहाँ, को, के, यसमा इफ बट केही पनि छैन ।’

Published : Saturday, 2026 May 9, 8:21 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया