सबै भाषाहरूको संरक्षण र विकास गर्नु सबैको साझा जिम्मेवारी हो : मुख्यमन्त्री बानियाँ
काठमाडौं । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले प्रदेश सरकारी कामकाजको भाषा ऐन, २०८० कार्यान्वयनको ऐतिहासिक उपलब्धिको अवसरमा शुभकामना दिएका छन् ।
बिहीबार शुभकामना सन्देश जारी गर्दै मुख्यमन्त्री बानियाँले भने, ‘वैशाख २४ गते मनाउने भाषा दिवसको यस सुखद् अवसरमा यस प्रदेशमा बसोबास गर्नुहुने, विशेष गरी तामाङ र नेपाल भाषा (नेवारी) बोल्ने जनसमुदाय लगायत सम्पूर्ण भाषाभाषी आमाबुवा, दिदीबहिनी तथा दाजुभाइहरूमा हार्दिक बधाई तथा शुभकामना व्यक्त गर्दछु ।’
उनले भने, ‘संविधानले नै नेपालमा बोलिने सबै मातृभाषाहरूलाई राष्ट्रभाषाको रूपमा अङ्गिकार गर्दै भाषा र संस्कृतिको संरक्षण गर्ने हक सुनिश्चित गरेको छ ।’
‘सोही संवैधानिक मर्म र भावनालाई आत्मसात् गर्दै बागमती प्रदेश सरकारले नेपाली भाषाका अतिरिक्त तामाङ र नेपाल भाषा (नेवारी)लाई प्रदेशको सरकारी कामकाजको भाषाको रूपमा लागू गरिसकेको छ । बागमती प्रदेशमा नेपाली, तामाङ, नेपाल भाषा लगायत थुप्रै मातृभाषाहरूले हाम्रो सामाजिक विविधता र समृद्ध परम्परालाई जीवन्त राख्दै आएका छन्,’ मुख्यमन्त्री बानियाँले भने ।
‘यी सबै भाषाहरूको संरक्षण, प्रवर्द्धन र विकास गर्नु हामी सबैको साझा जिम्मेवारी हो,’ उनले भने, ‘प्रदेश सरकारले प्रदेश सरकारी कामकाजको भाषा ऐन, २०८० जारी गरी बहुभाषिक नीतिलाई व्यवहारमा उतार्दै मातृभाषाहरूको सम्मान, शिक्षा र प्रयोगलाई बढवा दिन निरन्तर प्रयत्नशील रहँदै आएको कुरा यसै शुभकामना मार्फत जानकारी गराउन चाहन्छु ।’
‘ऐतिहासिक पहलबाट लाभान्वित हुने विशेष गरी तामाङ र नेवार समुदाय लगायत सम्पूर्ण प्रदेशवासीहरूले आफ्नै मातृभाषामा सरकारी सेवा प्राप्त गर्ने अधिकार सुनिश्चित भएको छ,’ उनले भने ।
‘यसले नागरिक र सरकारबीचको सम्बन्धलाई थप सुमधुर, जनमुखी र सेवामुखी बनाउने मेरो दृढ विश्वास छ,’ मुख्यमन्त्री बानियाँले भने ।
‘भाषा दिवसले हामी सबैलाई भाषिक विविधताको सम्मान गर्दै सामाजिक न्याय र सांस्कृतिक एकताका साथ अघि बढ्न प्रेरणा प्रदान गरोस् भन्ने कामना गर्दछु,’ मुख्यमन्त्री बानियाँले भने ।
बिचार/ब्लग
मजदुरी गर्ने गरिबहरूले नेपालमै सस्तो सामान प्राप्त गर्ने वातावरण तयार गर्नु पर्छ : कांग्रेस नेता गुरुङ
कल्याण गुरुङ, नेता, नेपाली कांग्रेस

फेसबुकबाट तपाईको प्रतिक्रिया