अख्तियारद्वारा पुथा उत्तरगङ्गाका तत्कालीन हाकिम, जनप्रतिनिधि र कर्मचारीहरूविरुद्ध दुई वटा भ्रष्टाचार मुद्दा दायर
काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले रुकुम पूर्वको पुथा उत्तरगङ्गा गाउँपालिकाका तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत बशिष्टनारायण यादवसहितका व्यक्तिहरूविरुद्ध करीव ११ लाख र ९ लाख सहितका दुई÷दुई वटा भ्रष्टाचारका मुद्दा दायर गरेको छ ।
मंगलबार अख्तियारले यादवसहितका व्यक्तिहरूविरुद्ध विशेष अदालत, काठमाडौंमा जनही ११ लाख ६९ हजार ७ सय ६० रुपियाँ र जनही ९ लाख ६७ हजार ३ सय ७८ रुपियाँ बिगो मागदाबी गरिएका दुई वटा भ्रष्टाचारका मुद्दा दायर गरिएको प्रवक्ता सुरेश न्यौपानेद्वारा जारी प्रेस विज्ञप्तिमा उल्लेख छ ।
यादवसहितको समूहले प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना अन्तर्गत सङ्घीय सःशर्त अनुदानबाट बजेटमा घोटाला गरेको अभियोग अख्तियारले लगाएको छ ।
प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना अन्तर्गत सङ्घीय सःशर्त अनुदानबाट बजेट सुनिश्चित भएको कागती पकेट विकास कार्यक्रम गाउँपालिकाको वडा नं. १२ स्थित छमारीमा सञ्चालन गर्न ०७७ चैत २५ मा सम्झौता गरि कागती पकेट विकास सम्बन्धी योजनाको कार्य गर्दा इस्टमेट बमोजिमको कार्य नगरी फिल्डमा नभएको नगरेको काम नापी किताबमा भएको देखाई वास्तविक रुपमा हुँदै नभएको काम भएको भनी बढी मूल्याङ्कन गरि गराई ११ लाख ६९ हजार ७ सय ६० रुपियाँ भुक्तानी लिई÷दिई सरकारी सम्पत्ति हिनामिना, हानिनोक्सानी एवम् दुरुपयोग भएको अख्तियारले जनाएको छ ।
अख्तियारले भ्रष्टाचार मुद्दा दायर गरिएकाहरूमा तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत बशिष्टनारायण यादव, वडा नं. १२ का तत्कालीन वडाध्यक्ष गंगाबहादुर पुन, ईञ्जिनियर खुबीराज शाही, सब–ईञ्जिनियर कमलप्रसाद केसी, तत्कालीन योजना शाखाका प्रमुख/कम्प्यूटर अपरेटर चित्रबहादुर केसी, तत्कालीन कृषि प्राविधिक ओमप्रकाश ओली, तत्कालीन सहलेखापाल नवराज खड्का, पुथा हिमालयन अर्गानिक कृषि प्रा.लि. र त्यसका अध्यक्ष सुजन पुनविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ ।
साथै अख्तियारले यादवसहित सबै प्रतिवादीहरूविरुद्ध जनही ९ लाख ६७ हजार ३ सय ७८ रुपियाँ बराबरको अर्को भ्रष्टाचार मुद्दा पनि दायर गरेको छ ।
बिचार/ब्लग

फेसबुकबाट तपाईको प्रतिक्रिया