मुख्यमन्त्री बानियाँले १४ मन्त्रालय घटाएर ८ वटामा झारे, राज्यको ५ अर्ब बच्ने
हेटौँडा । मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले बागमती प्रदेशमा मन्त्रालयको संख्या घटाएका छन् ।
मंगलबार हेटौँडामा बसेको मन्त्रिपरिषद् बैठकले प्रदेशमा कायम रहेको १४ मन्त्रालयलाई घटाएर ८ वटा बनाउने निर्णय गरेको बागमती प्रदेश सरकारका प्रवक्ता एवम् आर्थिक मामिला तथा योजनामन्त्री प्रभात तामाङले बताए । आगामी साउन १ गतेबाट लागू हुने गरी प्रदेशको ६ वटा मन्त्रालयहरूलाई मर्ज गरिएको छ ।
मुख्यमन्त्री बानियाँले यसअघि नै बागमती प्रदेश सरकारबाट मन्त्रालयहरू घटाउने तयारी गरिरहेका थिए । सो तयारीलाई बानियाँले निर्णयका साथ कार्यान्वयनमा लगेका छन् ।
प्रदेशमा अब मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयसहित आन्तरिक मामिला, कानून तथा सहकारी मन्त्रालय, आर्थिक मामिला तथा योजना मन्त्रालय, खानेपानी, ऊर्जा तथा सिँचाइ मन्त्रालय, भौतिक पूर्वाधार विकास मन्त्रालय, कृषि, पशुपन्छी, वन तथा वातावरण मन्त्रालय, स्वास्थ्य तथा सामाजिक विकास मन्त्रालय र उद्योग, पर्यटन, श्रम तथा यातायात मन्त्रालय कायम रहने छन् ।
चालु आर्थिक वर्षको अन्तिमसम्मको लागि हालकै मन्त्रिपरिषद्ले काम गर्ने र साउन १ गतेदेखि लागू हुने गरी निर्णय गरिएको तामाङले बताए । आगामी आर्थिक वर्षको बजेटमा कटौतीमा परेका मन्त्रालयहरूको बजेट सिलिङ पनि नयाँ मन्त्रालयहरूको कोडमा राख्ने व्यवस्था गरिएको छ ।
प्रदेशका मन्त्रालयहरू मातहतका कार्यालयहरूको संख्या १९८ बाट घटेर १४८ मा झर्ने र प्रदेश सरकारले वार्षिक चालुतर्फ ५ अर्ब सार्वजनिक खर्च कम गर्ने अनुमान लिएको छ । चालू खर्चमा घटेको खर्च पुँजीगततर्फ लगाउने मन्त्री तामाङले बताएका छन् ।
बिचार/ब्लग

फेसबुकबाट तपाईको प्रतिक्रिया