खोलाको बीचमा भागमा अलपत्र परेका ५ वटा हायस बसका ८९ यात्रुको उद्धार, अटेर गर्ने चालकहरू गिरफ्तार

रोशी । जिल्ला प्रहरी कार्यालय, काभ्रेपलाञ्चोकले रोशी खोलाको बीच भागमा रहेका पाँच वटा हायस बसका यात्रुहरूलाई सकुशल उद्धार गरेर गन्तव्यतर्फ पठाएको छ ।

वैशाख २१ गते साँझदेखि परेको अविरल वर्षाका कारण रोशी खोलाको बहाव बढ्न गई खोलाको बीच भागमा पाँच वटा हायस बसका अलपत्र परेका ८९ जना यात्रुहरूलाई उद्धार गरिएको प्रहरीले जनाएको छ । उनीहरूलाई अन्य सुरक्षा निकायहरू समेतको सहभागितामा वैशाख २२ गते मंगलबार बिहान १ बजे उद्धार कार्य सम्पन्न गरी यात्रुहरूलाई सुरक्षित रुपमा गन्तव्यसम्म पठाइएको काभ्रे प्रहरीले जनाएको छ ।

सम्भावित जोखिमलाई मध्यनजर गर्दै नेपाल प्रहरी तथा ट्राफिक प्रहरीबाट खटिएको प्रहरी टोलीहरूले सुरक्षित स्थानमा रोक्दा रोक्दै लापरवाहीपूर्ण तरिकाले यात्रुहरूको जीउधनलाई समेत खतरा पुर्‍याई सवारी चलाउने उक्त ५ वटा हाइस बसका पाँच जना चालकहरूलाई समेत नियन्त्रणमा लिएर जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकको हिरासतमा राखी आवश्यक अनुसन्धान कार्य भइरहेको प्रेस नोटमा उल्लेख छ ।

काभ्रेपलाञ्चोक प्रहरीले वर्षाको समयमा वीपी राजमार्ग भई यात्रा गर्दा जहिले पनि सूचना वा पूर्व जानकारी लिएर र प्रहरीको सुझावलाई समेत आत्मसात गरी यात्रा गर्न अनुरोध पनि गरेको छ ।

Published : Tuesday, 2026 May 5, 9:25 am

फेसबुकबाट तपाईको प्रतिक्रिया