रविकी पत्नी निकिताले १ अर्ब ४५ करोड भराउनुपर्ने मागदाबीसहित दायर गरेको मुद्दा नै खारेज

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेकी पत्नी निकिता पौडेलले कान्तिपुर, नागरिक, उकेरा, अनलाईन खबर, जनआस्थासहितका सञ्चारमाध्यमविरुद्ध दायर गरेको मुद्दामा खारेज भएको छ ।

सोमबार काठमाडौं जिल्ला अदालतका न्यायाधीश आत्मदेव जोशीको इजलासले निकिताको मागदाबी नपुग्ने ठहर गरेको हो ।

समाचारले गालीबेइज्जती भएको भन्दै लामिछानेकी पत्नी निकिताले हालेको मुद्दामा काठमाडौं जिल्ला अदालतले दाबी नपुगेको भनेर खारेज गरिदिएको हो ।

विभिन्न मिडियाका २९ जनाविरुद्ध हालेको रिटमा दाबी नपुग्ने भन्दै सोमबार खारेज भएपछि सञ्चारमाध्यमहरूलाई राहत मिलेको छ ।

लामिछाने तत्कालीन पुष्पकमल दाहाल नेतृत्वको सरकारमा उपप्रधान तथा गृहमन्त्री रहेका बेला ०८० चैत २१ मा काठमाडौं महानगरले निकिता निवर्तमान उपाध्यक्ष रहेको साई स्वागत बचत तथा ऋण सहकारीमा छापा मारेको थियो ।

हालका प्रधानमन्त्री बालेन्द्र शाह त्यसबेला काठमाडौं महानगरका मेयर थिए । महानगरले निकिताको सहकारीमा छापा हानेको विवरणसहित वक्तव्य प्रकाशित गरेको थियो ।

सञ्चारमाध्यमहरूले समाचार काठमाडौं महानगरको वक्तव्यमा आधारित रहेर समाचार प्रकाशित गरेका थिए । निकिताले आफ्नो बेइज्जती भएको भन्दै सञ्चारमाध्यमसहित २९ जनाविरुद्ध मुद्दा हालेकी थिइन् ।

सञ्चारमाध्यमहरूको तर्फबाट कानूनी व्यवसायी अनन्तराज लुईंटेल, बद्री भुसाल, विशाल थापा, सूर्यवती पुडासैनी र दुर्वाशा लुइँटेलले बहस गरेका थिए ।

निकिताले उक्त सहकारीबाट ५० लाख रुपियाँ निकालेर नगरकोटको मिस्टिक माउण्टेन होटलमा विवाहको पार्टी दिएको विषयमा समाचार प्रकाशित भएका थिए । प्रकाशित समाचारमा आपत्ति जनाउँदै निकिताले खण्डन पठाएकी थिइन् ।

खण्डन छापेको अवस्थामा पनि निकिताले प्रत्येक प्रतिवादीसँग पाँच/पाँच करोड रुपियाँको दरले मागदाबी गर्दै अदालत गएकी हुन् ।

आफूविरुद्ध समाचार लेख्ने हरेकबाट पाँच करोड रुपियाँका दरले १ अर्ब ४५ करोड रुपियाँ भराउनुपर्ने मागदाबी थियो ।

Published : Monday, 2026 May 4, 6:36 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया