मुख्यमन्त्री बानियाँसहितका मन्त्रीहरूद्वारा कागेश्वरी मनोहरा नगर अस्पतालको अनुगमन
मनोहरा । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले काठमाडौंको कागेश्वरी मनोहरा नगर अस्पतालको अनुगमन गर्नुका साथै स्वास्थ्य सेवा लिएर स्वाथ्यकर्मीहरूको मनोबल उच्च बनाइदिएका छन् ।
आइतबार मुख्यमन्त्री बानियाँ, आर्थिक मामिला तथा योजनामन्त्री प्रभात तामाङ तथा खानेपानीमन्त्री कृष्णकुमार तामङले अस्पतालको अवलोकन तथा सुपरिवेक्षण गरेका हुन् । अस्पतालको विकास यात्रामा नयाँ ऊर्जा, नयाँ आशा र थप आत्मविश्वास भरेको कागेश्वरी मनोहरा नगरपालिकाका मेयर उपेन्द्र कार्कीले बताएका छन् ।
प्रदेश सरकारको उच्च नेतृत्व स्वयं अस्पतालमा पुगेर सेवा प्रवाह, व्यवस्थापन र भावी योजनाप्रति गम्भिर चासो व्यक्त गर्नु नागरिक स्वास्थ्यप्रति राज्य संवेदनशील रहेको स्पष्ट सन्देश रहेको मेयर कार्कीले बताए ।
अवलोकनका क्रममा मुख्यमन्त्री बानियाँ र मन्त्रीहरूले अस्पतालका विभिन्न विभाग, प्रयोगशाला, स्वास्थ्य बीमा सेवा, आपतकालीन उपचार कक्ष तथा व्यवस्थापन प्रणालीको विस्तृत निरीक्षण गर्दै सीमित स्रोतसाधनका बीच पनि अस्पतालले प्रदान गरिरहेको सेवाको खुलेर प्रशंसा गरेका छन् ।

विशेषगरी स्वास्थ्य बीमामार्फत आम नागरिकले सहज रूपमा उपचार पाएको अवस्था, सेवाग्राहीमा देखिएको विश्वास र अस्पताल प्रशासनको सक्रिय व्यवस्थापनले प्रदेश नेतृत्वलाई सकारात्मक रूपमा प्रभावित बनाएको थियो । यस अवसरमा अस्पतालको दीर्घकालीन विकासलाई केन्द्रमा राखेर तयार गरिएको ‘नयाँ भवन गुरुयोजना’ प्रस्तुत गरिएको छ, जसप्रति मुख्यमन्त्री बानियाँले विशेष चासो व्यक्त गर्दै प्रदेश सरकारको तर्फबाट आवश्यक सहयोग र सहकार्यका लागि स्पष्ट प्रतिबद्धता जनाएका छन् ।
‘यो प्रतिबद्धता केवल पूर्वाधार विकासको आश्वासन मात्र नभई स्थानीय तह र प्रदेश सरकारबीचको समन्वित विकास अवधारणाको उदाहरण पनि हो,’ मेयर कार्कीले बताए ।
कार्यक्रममा नगर प्रमुख, उप–प्रमुख तथा अस्पताल व्यवस्थापन समितिका पदाधिकारीहरूले अस्पतालको स्थापना कालदेखि हालसम्मको संघर्षपूर्ण यात्रा, सेवा विस्तारका प्रयास र नागरिक जीवनमा परेको सकारात्मक प्रभावबारे विस्तृत जानकारी गराएका छन् ।
कार्यकारी निर्देशक तथा मेडिकल सुपरिटेन्डेन्टद्वारा प्रस्तुत भावी योजना, सेवा विस्तारको स्पष्ट मार्गचित्र तथा आधुनिक स्वास्थ्य सेवातर्फको दृष्टिकोणले अस्पतालको आगामी गन्तव्यलाई अझ स्पष्ट बनाइएको थियो ।
नगर नेतृत्वले अस्पतालका तत्कालीन आवश्यकता र भविष्यका अनिवार्य पक्षहरूतर्फ प्रदेश सरकारको ध्यानाकर्षण गराएको छ । विशेषगरी अस्पतालमा अत्यावश्यक शल्यक्रिया कक्षको अभाव, १०० शय्यामा स्तरोन्नति भइसके पनि त्यसअनुरूपको भौतिक पूर्वाधार, दक्ष जनशक्ति तथा आधुनिक उपकरणहरूको कमी रहेको विषयलाई गम्भीर रूपमा प्रस्तुत गरिएको छ ।
बढ्दो सेवाग्राही चाप र नागरिकको अपेक्षालाई मध्यनजर गर्दै अस्पताललाई आधुनिक, व्यवस्थित र पूर्ण क्षमतायुक्त स्वास्थ्य संस्थाका रूपमा विकास गर्न प्रदेश सरकारको विशेष सहयोग अपरिहार्य रहेको धारणा व्यक्त गरिएको छ ।
बिचार/ब्लग

फेसबुकबाट तपाईको प्रतिक्रिया