कृष्ण मन्दिरमा २ हत्याका अभियुक्त पक्राउ गर्ने प्रहरीलाई मृतकका आमाबुवाद्वारा नगदसहित सम्मान

जावलाखेल । ललितपुरको मंगलबजारस्थित कृष्णमन्दिर परिषरमा हत्या भएका दुई युवकका आफन्तले प्रहरी जवान शाहाना बोहरालाई नगदसहित सम्मान गरेका छन् ।

शनिबार जिल्ला प्रहरी परिसर, ललितपुरमा आयोजित कार्यक्रममा हत्या गरिएका दुई युवकका बुवा र आमाले प्रहरी जवान बोहरालाई नगद रु. ३५ हजार १ सय ५ रुपियाँ पुरस्कार स्वरुप प्रदान गरेका हुन् ।

२०८२ चैत २५ गते ललितपुरको मंगलबजारस्थित कृष्ण मन्दिरमा सिर्जन नेवाङ्ग र सुमित नेवाङ्गको धारिलो हतयार प्रहार गरि हत्या भएको थियो । हत्या गरेर भाग्दै गरेका अभियुक्तहरूलाई प्रहरी जवान बोहराले एक्लै लखेटी लखेटी नियन्त्रणमा लिन सफल भएकी थिइन् ।

प्रहरी प्रभाग, मंगलबजारमा कार्यरत प्रहरी जवान बोहराको अत्यन्त साहसिक कार्यको उच्च मूल्याङ्कन गरी प्रशंसास्वरूप मृतक दाजुभाईका आमा र बुवाले नगद सहित सम्मान गरेको ललितपुर प्रहरीले जनाएको छ ।

कार्यक्रममा जिल्ला प्रहरी परिसर, ललितपुरका एसएसपी होबिन्द्र बोगटी, सम्मानित हुने प्रहरी जवान बोहरा लगायतका प्रहरी कर्मचारीहरू तथा मृतक दाजुभाईका आमा र बुवाको उपस्थिति रहेको थियो ।

Published : Saturday, 2026 May 2, 9:29 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया