भारतद्वारा बनाइएको सुनकोशी नदीको मोड्युलर पुलको उद्घाटन
नेपालथोक । काठमाडौंस्थित भारतीय राजदूतावासकी काउन्सलर गीताञ्जलि बै्रंडन र सडक विभागका महानिर्देशक डा. विजय जैसीले संयुक्त रुपमा ७० मिटर लम्बाइ भएको उच्च क्षमताको मोड्युलर पुलको उद्घाटन गरेका छन् ।
सिन्धुलीको नेपालथोकमा बिहीबार आयोजित कार्यक्रममा पुलको उद्घाटन गरिएको हो । उक्त मोड्युलर पुल सन् २०२५ अक्टोबरमा आएको विनाशकारी वर्षापछि सडक सञ्जालको पुनःस्थापनामा सहयोग पुर्याउन भारत सरकारले नेपाल सरकारलाई उपलब्ध गराउन लागेका दशवटा यस्तै पुलहरूमध्ये एक हो ।
नेरु. ७३ करोडभन्दा बढी लागतका यी दशवटा बेली ब्रिजहरू र तीनको जडानका लागि आवश्यक प्राविधिक सहयोग भारत सरकारले नेपाल सरकारलाई अनुदानको आधारमा उपलब्ध गराइरहेको भारतीय दूतावासद्वारा जारी प्रेस विज्ञप्तिमा उल्लेख छ ।

काउन्सलर गीताञ्जलिले यस मोड्युलर पुलको उद्घाटनपछि भारत र नेपालबीचको सम्बन्धलाई परिभाषित गर्ने अटुट मित्रताको प्रतिबिम्ब भएको बताइन् । उनले नेपालको पूर्वाधार विकास र विपद् पछिको पुनर्निर्माणका प्रयासहरूमा भारत सरकारको निरन्तर सहयोग रहने प्रतिबद्धता समेत जनाएकी छिन् ।
नेपाल सरकार, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, सडक विभागका महानिर्देशक जैसीले भारतको समयसापेक्ष सहयोगका लागि कृतज्ञता व्यक्त गरेका छन् । महानिर्देशक जैसीले यी पुलहरू छिटो जडान गर्न सकिने प्रकृतिका भएकाले आपतकालीन पुनर्निर्माणलाई तीव्रता दिन यिनको भूमिका महत्वपूर्ण हुने बताए । जैसीले हालै जडान गरिएको पुलले सिन्धुली र रामेछाप जिल्लाका मानिस र वस्तुको आवतजावतलाई सुचारु गर्न र सुधार गर्न मद्दत गर्ने विश्वास व्यक्त गरेका छन् ।
यसअघि सन् २०२४ सेप्टेम्बरको बाढी र पहिरोपछि नेपाल सरकारको अनुरोधमा भारत सरकारले नेरु.४१ करोड बराबरको १० वटा प्री–फ्याब्रिकेटेड स्टील ब्रिजहरू उपलब्ध गराएको थियो ।
भारत सरकार पुनर्निर्माण र विपद् न्यूनीकरणका प्रयासहरूमा नेपाली जनता र नेपाल सरकारलाई निरन्तर सहयोग गर्न प्रतिबद्ध जनाएको छ ।

बिचार/ब्लग

फेसबुकबाट तपाईको प्रतिक्रिया