प्रतिशोधले कांग्रेसलाई ठूलो क्षति गर्छ, दुबै पक्षलाई मिलाएर जानु बुद्धिमानी हुन्छ : नेता मल्ल
काठमाडौं । नेपाली कांग्रेसका नेता यामबहादुर मल्ल (रामकृष्ण)ले पार्टीभित्रको विवाद र प्रतिशोधले कांग्रेसलाई ठूलो क्षति पुग्ने बताएका छन् ।
निवर्तमान कार्यबाहक सभापति पूर्णबहादुर खड्काद्वारा काठमाडौंमा आह्वान गरिएको बैठकमा नेता मल्लले राजनीतिक प्रतिशोध राखेर नेता तथा कार्यकर्ताहरूमाथि प्रहार गर्ने कार्य सानेपाबाट अन्त्य हुनुपर्ने बताए । उनले सर्वोच्च अदालतले कांग्रेसको विवाद अन्त्य गरिसकेपछि दुबै पक्षलाई मिलाएर लैजाने दायित्व र जिम्मेवारी कथित विशेष महाधिवेशनबाट आएको नेतृत्वको रहेको बताए ।
उनले कांग्रेसलाई अहिले नमिलाउने हो भने ठूलो क्षति हुने चेतावनी दिएका छन् । त्यसका लागि सानेपामा बस्ने कांग्रेसले ध्यान दिनुपर्ने बताए । आफूलाई मन नपरेका नेताहरूलाई कारबाही गर्ने, निस्काषन गर्ने कार्य कदापि स्वीकार गर्न नसकिने नेता मल्लले बताए ।
नेपाली कांग्रेस गण्डकी प्रदेश कार्यसमितिका सदस्य समेत रहेका नेता मल्लले कांग्रेसका नेता तथा कार्यकर्ताहरूलाई दास बनाउन भुल नगर्न चेतावनी दिएका छन् । उनले क्रियाशील सदस्यता अध्यावधिको नाममा नेताहरूलाई तेजोबध गर्ने कार्य स्वीकार्य नहुने पनि बताएका छन् ।
कांग्रेसलाई मिलाएर लैजान नियमित महाधिवेशन पक्षधर शेरबहादुर देउवा पक्षका नेता तथा कार्यकर्ताहरूलाई पनि मिलाउनुपर्ने उनले बताए ।
बिचार/ब्लग

फेसबुकबाट तपाईको प्रतिक्रिया