एमसीए–नेपालद्वारा धानखोला– लमही सडकखण्ड स्तरोन्नति कार्यको शुभारम्भ
मसुरिया । एमसीए–नेपालले पूर्व–पश्चिम महेन्द्र राजमार्गको ४० किलोमिटर लामो धानखोला– लमही सडकखण्ड स्तरोन्नति कार्यको औपचारिक रूपमा शुभारम्भ गरेको छ ।
बुधबार दाङको धानखोलामा पूजा गरेर कामको शुरुवात भएको छ । सडक स्तरोन्नति तथा मर्मत कार्यका लागि नेपालमै पहिलो पटक गुणस्तर, टिकाउपना र दिगोपनाको दृष्टीकोणबाट निकै लाभदायी अत्याधुनिक निर्माण प्रविधि फूल डेप्थ रिक्लेमेशन र सुपरपेभ आस्फाल्ट प्रयोग गरिँदैछ । धानखोला–लमही सडकखण्डको ठेक्का शर्मा एण्ड कम्पनीले लिएको छ ।
बलियो एवं टिकाउ सडक निर्माण गरेर, पहिल्यै भएका आस्फाल्ट पदार्थ पुनःप्रयोग गरेर तथा वातावरणीय प्रभाव न्यूनीकरण गरेर यस पद्धतिले सडक मर्मतमा गरिएको लगानीलाई दीर्घकालका लागि थप भरपर्दाे तथा लागत प्रभावकारी बनाउन सहयोग गर्ने एमसीए–नेपालले जनाएको छ ।
आयोजनाले सडकको दुवैतर्फ सात मिटर चौडा क्यारिजवे र साढे दुई मिटर चौडा सोल्जर निर्माण गरेर यस सडकलाई १२ मिटर चौडा पनि बनाउनेछ ।

लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले सडकखण्ड स्तरोन्नति कार्य शुभारम्भ समारोहलाई सम्बोधन गर्दै सडकको राम्रो गुणस्तर र टिकाउपना सुनिश्चित गर्ने एफडीआर तथा सुपरपेभ जस्ता अत्याधुनिक प्रविधि प्रयोगको प्रशंसा गरेका छन् । ‘यो राजमार्गमा हरेक दिन निर्भर रहेको हाम्रो प्रदेश र यहाँका जनताका लागि यो एउटा महत्वपूर्ण अग्रगामी कदम हो,’ आचार्यले भने ।
‘यो सडकखण्डको स्तरोन्नतिले यात्रालाई थप सुरक्षित र भरपर्दाे बनाउने मात्र नभई स्थानीय व्यवसायी, किसान तथा उद्यमीहरूका लागि नयाँ अवसरहरू पनि सिर्जना गर्नेछ,’ उनले भने ।
नेपालका लागि संयुक्त राज्य अमेरिकाका कार्यवाहक राजदूत स्कट अर्बमले भने, ‘आजको यस धानखोला–लमही सडकखण्ड स्तरोन्नति कार्यको शुभारम्भ संयुक्त राज्य अमेरिका तथा नेपालबीचको साझेदारीका सन्दर्भमा एउटा महत्वपूर्ण कोशेढुङ्गा हो ।’
‘एमसीसी नेपाल कम्प्याक्टमार्फत हामी ढुवानी लागत घटाउने, सुरक्षा वृद्धि गर्ने तथा समुदायहरूलाई बजार र अवसरहरूसँग जोड्ने उच्च गुणस्तरका दिगो पूर्वाधारमा लगानी गर्दैछौँ,’ उनले भने, ‘यस आयोजनाले नेपालको भविष्यप्रति हाम्रो विश्वास र दिगो आर्थिक वृद्धिका लागि हाम्रो संयुक्त निष्ठालाई प्रतिविम्बित गर्छ ।’

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सह–सचिव सुशीलबाबु ढकालले भने, ‘एमसीए–नेपालको लगानी नेपाल सरकारका योजना तथा कार्यक्रमका पूरकका रूपमा तयार गरिएको उल्लेख गर्न पाउँदा एमसिए–नेपालको सञ्चालक समितिका सदस्यका रूपमा मलाई हर्ष लागेको छ ।’
‘यो सहकार्यले सबल पूर्वाधार निर्माण र हाम्रा समुदायहरूका लागि आर्थिक अवसर विस्तारप्रति हाम्रो साझा प्रतिबद्धता प्रतिविम्बित गर्छ,’ उनले भने ।
एमसीसीका राष्ट्रिय आवासीय उपनिर्देशक सञ्जय पौड्यालले धानखोला–लमही सडकखण्ड स्तरोन्नतिलाई महत्वपूर्ण कदमका रुपमा लिउको बताए । उनले दीर्घकालीन कार्यसम्पादन सुनिश्चित गर्ने अत्याधुनिक प्रविधिहरू प्रयोग गरेर सबल एवं लागत प्रभावकारी पूर्वाधार निर्माणमा नेपाललाई सघाउने एमसीसीको प्रतिबद्धतालाई प्रतिविम्बित गरेको बताए ।
एमसीए–नेपालका कार्यकारी निर्देशक खड्गबहादुर विष्टले भने, ‘धानखोला – लमही सडकखण्ड स्तरोन्नति कार्यको थालनी एमसीसी नेपाल कम्प्याक्ट अन्तर्गतको सडक मर्मत आयोजना कार्यान्वयनका सन्दर्भमा महत्वपूर्ण कदम हो ।’
‘एमसीए–नेपाल यो आयोजना प्रभावकारी रूपमा, पारदर्शितापूर्वक तथा उच्चतम गुणस्तरसहित सम्पन्न गर्न प्रतिबद्ध छ,’ विष्टले भने, ‘म नेपाल सरकार, मिलेनियम च्यालेञ्ज कर्पाेरेशन र हाम्रा प्रमुख सरोकारवालाहरू भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, सडक विभागका साथै एमसीए–नेपाल सञ्चालक समितिप्रति उहाँहरूको अनवरत सहयोगका लागि आभार व्यक्त गर्न चाहन्छु ।’
शर्मा एण्ड कम्पनीका डाइरेक्टर सौरभ शर्माले दुई वर्षभित्र मापदण्डअनुसारको सडक निर्माण गरेर हस्तान्तरण गरिने बताए । उनले नयाँ प्रविधिबाट काम गर्न पाउँदा निकै खुसी लागेको बताए ।
उनले भने, ‘यस प्रकारको आयोजना हामीले लामो समयदेखि खोजी रहेका थियौँ । नेपालको लागि अत्यन्तै काम लाग्ने टेक्नोलोजी हो । जुन हामीले आजको दिनसम्म प्रवेश गराउन सकेका थिएनौँ । यहीँ भएको मेटेरियललाई प्रयोग गर्ने हो भने समय पनि बच्छ । पैसा बच्छ ।’
‘नयाँ टेक्नोलोजी हामीले नेपालमा चलाउन साह्रै जरुरी छ । यो नयाँ टेक्नोलोजी आएर हामीले काम गर्न पाउनुमा साह्रै गर्व लागेको छ,’ उनले भने ।

‘हाम्रो काम कस्तो हुन्छ ? भनेर हेर्नको लागि धेरै टाढा जानु पर्दैन । ६/७ किलो मिटर पर गयौं भने प्रदेश राजधानीमा २÷३ वर्ष राम्रोसँग माया गरेर राखिदिनुभयो । यस पटक पनि काम गर्ने मौका दिनु हुनेछ । समयमा यो काम सक्ने प्रतिबद्धता जनाउँछौँ,’ डाइरेक्टर शर्माले भने ।
शर्माले भने, ‘क्वालिटीमा हामी काम गर्छौं । हामीलाई साथ र सहयोग चाहिन्छ । एमसीए नेपालबाट पाउनुपर्ने साथ र सहयोग पाइसकेका छौं । हामीले सम्झौतामा हस्ताक्षर गरेको करीव दुई महिना कटिसकेको छ । पूर्वतयारी अनुसारको काम गरिरहेका छौँ । देख्न सक्नु हुन्छ ।’
‘४० किलोमिटरको परिधिमा हाम्रो अफिसको संरचना बनाइसकेका छौँ । काम गर्दा हामीलाई आवश्यक पर्ने प्लान्टहरू राखिसकेका छौँ,’ उनले भने ।
‘नयाँ मेसिनहरू बाहिरबाट ल्याउने क्रममा छौँ । राम्रो काम गरेर दुई वर्षभित्र यो सडक हामीले हस्तान्तरण गर्न आतुर छौँ,’ डाइरेक्टर शर्माले भने ।
सडक मर्मत आयोजना एमसीसी नेपाल कम्प्याक्टको महत्वपूर्ण अंश हो । यसले ढुवानी लागत घटाउने तथा नेपालका सडकको अवस्थामा सुधार ल्याउने उद्देश्य राखेको छ ।
बिचार/ब्लग

फेसबुकबाट तपाईको प्रतिक्रिया