राष्ट्रियसभा संसदीय दलको नेता फेर्ने कुरा ठीक होइन : कांग्रेस नेता विश्वकर्मा

काठमाडौं । नेपाली कांग्रेसका नेता मीनबहादुर विश्वकर्माले अहिले राष्ट्रियसभाको संसदीय दलको नेता फेर्ने कुरा ठीक नभएको बताएका छन् ।

मंगलबार काठमाडौंमा निवर्तमान कार्यबाहक सभापति पूर्णबहादुर खड्काद्वारा आह्वान गरिएको बैठकपछि पत्रकारसँग कुरा गर्दै नेता विश्वकर्माले सिटौलालाई हटाउने कुरा अहिले कुनै पनि कोणबाट सही नहुने बताए ।

‘त्यो गर्नुभयो भने त्यति राम्रो नहोला,’ उनले भने, ‘राष्ट्रिय सभामा अहिले भइरहेका नेतामध्ये ज्येष्ठ तथा शीर्ष नेता नै दलको नेता हुनुहुन्छ ।’

अहिले राष्ट्रियसभामा दलको नेता बदल्दा के हुने ? भन्दै विश्वकर्माले प्रश्न गरे । उनले भने, ‘प्रधानमन्त्री बनाउन त होइन होला । अथवा त्यहाँबाट पार्टीलाई अर्को ठूलो उपलब्धी हुने होइन होला । र, उहाँ स्वयं व्यक्तिबाट कुनै बाधा पनि भएको छैन ।’

पार्टीले गर्नुपर्ने अरू तमाम काम छाडेर भइरहेको नेताका पछाडि लागेर कही नपुगिने विश्वकर्माले बताए । ‘अरु कुरा पार्टी निर्माण छाडेर, लोकतन्त्रको जगेर्नाका कुरा, सरकारको देखिएको निरंकुश व्यवहारको प्रमुख प्रतिपक्षी दलले गर्नुपर्ने खबरदारी छाडेर आफ्नै दलका नेतामाथि यस्तो व्यवहार गर्न थालियो भने पार्टीका लागि पनि, लोकतान्त्रिक अभ्यासका लागि पनि राम्रो हुँदैन । उहाँहरूले गरेको क्रियाकलपा ठीक होइन भन्ने लाग्छ’, विश्वकर्माले भने ।

Published : Tuesday, 2026 April 28, 7:24 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया