डोजर लगाएर हटाइएका सुकुम्बासी र भूमिहीनको दैनिक गुजाराप्रति कांग्रेस नेता गुरुङको चिन्ता
काठमाडौं । नेपाली कांग्रेसका नेता कल्याण गुरुङले नदी किनाराबाट हटाइएका सुकुम्बासी र भूमिहीनहरूका लागि औषधि, गास र आवासको व्यवस्था गर्न आग्रह गरेका छन् ।
सोमबार नेता गुरुङले भने, ‘नेपाल सरकारले उहाँहरूको लागि जग्गाको प्रबन्ध गर्नु पर्छ । नेपाल सरकारले निजी क्षेत्र, उद्योगपति, बैंकर र व्यवसायीहरूसँग समन्वय गरेर उहाँहरूको आवासको निर्माण, बालबालिकाहरूको शिक्षा र उहाँहरूको योग्यता अनुसारको रोजगारीको लागि पहल गर्नु पर्छ ।’
‘नेपाल सरकारले स्थानीय तहसँग समन्वय गरेर बालबालिकाको लागि कक्षा १२ सम्मको शिक्षा निःशुल्क, नियमित र छात्रवृतिमा हुने व्यवस्था गर्नु पर्छ,’ कांग्रेस नेता गुरुङले भने ।
‘नेपाल सरकारले स्थानीय तह तथा अस्पताल र औषधि व्यवसायीहरूसँग समन्वय गरेर बालबालिका र बृद्धबृद्धा लगायत उनीहरूले निःशुल्क र नियमित स्वास्थ्य सेवा प्राप्त गर्ने व्यवस्था हुनु पर्छ,’ नेता गुरुङले भने ।
‘नेपाल सरकारले स्थानीय तहसँग समन्वय गरेर भूमिहीन र सुकुम्बासीहरूले पालन पोषण गर्नु भएको पशुपंक्षीहरूको हेरचाह र पालन पोषण गर्ने व्यवस्था हुनु पर्छ,’ नेता गुरुङले भने ।
उनले भने, ‘नेपाल सरकारले स्थानीय तहसँग समन्वय गरेर उनीहरूको सरसमान र ओढ्ने, ओछ्याउने र लगाउने कपडाहरू सुरक्षित रहने व्यवस्था गर्नु पर्छ ।’
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को झण्डै दुईतिहाईको बहुमतको बालेन्द्र शाह नेतृत्वको सरकारले बागमती नदी र मनहरा खोला किनार अतिक्रमण गरेर बसेका भूमिहीन तथा सुकुम्बासीहरूलाई डोजर लगाएर हटाएको छ ।
नदी किनारबाट हटाइएका उनीहरूको व्यवस्थापनका लागि कांग्रेस नेता गुरुङले चिन्ता गर्दै बिकल्प र सुझावहरू दिएका छन् ।
बिचार/ब्लग

फेसबुकबाट तपाईको प्रतिक्रिया