कांग्रेस बलियो बनाउन देउवा समूहको दुई दिने भेला, ७७ जिल्ला जाने, त्यसपछि राष्ट्रिय भेला
काठमाडौं । नेपाली कांग्रेसका निवर्तमान कार्यबाहक सभापति पूर्णबहादुर खड्काले आफू निकटका नेताहरू, जिल्ला सभापतिहरू लगायतको भेला बोलाएका छन् ।
खड्काले वैशाख १५ र १६ गते दुई दिनका लागि भेला बोलाएका हुन् । धुम्बाराहीस्थित स्मार्ट प्यालेसमा भेला हुनेछ । भेलामा आफू निकटका नेताहरूलाई सहभागी हुन आग्रह गरिएको छ ।
भेलामा आफू निकट मानिएका जिल्ला सभापतिहरूलाई बोलाइएको एक नेताले बताएका छन् । जिल्ला सभापतिमा पराजित भएकाहरू, जिल्ला उपसभापति तथा अन्य पदाधिकारीहरूलाई पनि भेलामा बोलाइएको छ ।
भेलामा निवर्तमान सभापति शेरबहादुर देउवा समूहबाट १४ औँ महाधिवेशनमा केन्द्रीय कार्यसमितिमा निर्वाचित भएकाहरूलाई पनि बोलाइएको छ ।
भेलामा भावी रणनीतिकका विषयमा छलफल हुनेछ । आगामी दिनमा हामी कसरी अघि बढ्ने तथा १५औँ महाधिवेशनको तयारी कसरी गर्ने जस्ता विषयमा बृहत छलफल र समीक्षा हुनेछ ।
गगनकुमार थापाको भृकुटीमण्डप भेला अर्थात् कथित विशेष महाधिवेशनलाई निर्वाचन आयोग र सर्वोच्च अदालतले मान्यता दिएको छ । देउवा समूहले सर्वोच्च अदालतको फैसालालाई माने पनि विशेष महाधिवेशनलाई मान्न सकिरहेको छैन । गगन थापालाई देउवा समूहले सभापतिका रुपमा स्वीकार गर्न सकेको छैन ।
देउवा समूहले १४ औँ महाधिवेशन र कथित विशेष महाधिवेशनबाट गठित केन्द्रीय कार्यसमितिलाई मिलाएर १५औँ महाधिवेशन आयोजक समिति बनाएर जानुपर्ने पक्षमा छन् । पार्टी एकताका लागि देउवा समूहको अगाडि सारेको प्रस्तावलाई गगन थापाले मानेका छैनन् ।
कांग्रेसलाई बचाउन र पार्टी एकताका लागि गगन थापा जिम्मेवार हुनुपर्ने देउवा समूहको भनाइ छ ।
दुई दिनको भेलापछि देउवा समूहले ७७ वटै जिल्लाहरूमा भेला र कार्यक्रम राख्नेछ । त्यसपछि छिट्टै राष्ट्रियस्तरको भेला काठमाडौंमा हुनेछ ।
गगनकुमार थापाले बेवास्ता गरे पनि पार्टी एकताका लागि दवाव सिर्जना गरिरहेको देउवा समूहले कठोर कदम पनि चाल्ने सम्भावना छ । त्यो कठोर कदम के हो केही भनिएको छैन ।
बिचार/ब्लग

फेसबुकबाट तपाईको प्रतिक्रिया