लागुऔषध ब्यूरोद्वारा काठमाडौंमा गोली हानेर जिम्बालाई पक्राउ

काठमाडौं । नेपाल प्रहरीको लागुऔषध नियन्त्रण ब्यूरो, कोटेश्वरले गोली प्रहार गरेर काठमाडौंमा ३ जनालाई पक्राउ गरेको छ ।

शुक्रबार शंखरापुर नगरपालिका वडा नं. ५ सालीनदीस्थित खोला किनारको खेतमा ४ जना पुरुष व्यक्तिहरू शंकास्पद गतिविधि गरिहेको अवस्थामा ब्यूरोको टोलीले नियन्त्रणमा लिन खोजेको थियो । त्यस क्रममा मकवानपुरको बकैया गाउँपालिका वडा नं. ३ स्थायी ठेगान भएका ३५ वर्षीय राम भन्ने जीवन जिम्बाले पेस्तोल निकाली प्रहरी टोलीमाथि १ राउण्ड गोली प्रहार गरेको सहप्रवक्ता समेत रहेका प्रहरी नायव उपरीक्षक जीवन निरौलाले प्रेस विज्ञप्तिमार्फत जानकारी दिएका छन् ।

आत्मरक्षाका लागि तत्कालै प्रहरी टोलीले पेस्तोलबाट ३ राउण्ड हवाई फायर गरी जीवन जिम्बालाई पेस्तोल भुईंमा राखेर आत्मसमर्पण गर्न चेतावनी दिएको थियो । जीवन जिम्बाले अटेर गरेपछि ब्यूरोको टोलीले बायाँ घुँडामुनिको भागमा १ राउण्ड गोली प्रहार गरि नियन्त्रणमा लिइएको प्रेस विज्ञप्तिमा उल्लेख छ ।

गोली लागेर घाइते भएका जीवन जिम्बालाई उपचारका लागि प्रहरीको टोलीले तत्काल सुस्मा कोइराला मेमोरियल अस्पताल, सलम्बुटार, साँखुमा पठाएको छ ।

जीवन जिम्बा र उनीसँगै रहेका सिन्धुपाल्चोकको मेलम्ची नगरपालिका वडा नं.१ ठेगाना भएका वर्ष ३४ का वीरबहादुर तामाङलाई नियन्त्रणमा लिइएको थियो ।

ब्यूरोले घटनास्थलबाट बेरेट्टा पेस्तोल, गोली बरामद गरि आवश्यक अनुसन्धान र कारबाहीका लागि जीवन जिम्मा (राम) का साथी वीरबहादुर तामाङलाई प्रहरी बृत्त, बौद्ध, काठमाडौं पठाइएको छ । फरार रहेका दुई जनाको खोजतलास भइरहेको विज्ञप्तिमा उल्लेख छ ।

यसैबीच, ब्यूरोको टोलीले काठमाडौंको चन्द्रागिरि नगरपालिका वडा नं. २ स्थित नागढुङ्गा चेकपोष्टले लागुऔषध खैरो हेरोईन ४७ ग्रामसहित दुई जनालाई पक्राउ गरेको छ ।

शुक्रबार बर्दियाबाट काठमाडौं आउँदै गरेको बसमा रहेका बर्दियाको गलरिया नगरपालिका वडा नं. १ ठेगाना भएका वर्ष २४ का निकलेश गोटिया र काठमाडौं महानगरपालिका वडा नं. ४ ठेगाना भएका वर्ष ४१ का विजय थापालाई पक्राउ गरिएको विज्ञप्तिमा उल्लेख छ ।

Published : Friday, 2026 April 24, 7:48 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया