सरकारले शुरु गरेको काम सुकुम्वासी, भूमिहीनको उज्ज्वल भविष्यका लागि हो : प्रहरी
काठमाडौं । नेपाल प्रहरीले सरकारले शुरु गरेको अभियान सुकुम्वासी, भूमिहीनको व्यवस्थापनका लागि रहेको जनाएको छ ।
शुक्रबार प्रहरी प्रधान कार्यालय, नक्सालले सूचना प्रकाशित गरेर भनेको छ, ‘नेपाल सरकारले शुरु गरेको सुकुम्वासी÷भूमिहीन व्यवस्थापन प्रक्रिया तपाईंहरूकै उज्ज्वल भविष्य, सुरक्षित बसोबास र सम्मानजनक जीवनयापन सुनिशचित गर्नका लागि सञ्चालन गरिएको महत्वपूर्ण पहल हो ।’
‘यसको मुख्य उद्देश्य वास्तविक सुकुम्वासी, भूमिहीनहरू पहिचान गरी न्यायोचित आवास तथा अधिकार प्रदान गर्नु रहेको छ,’ प्रहरीले भनेको छ ।
‘दुःख लाग्दो कुरा, केही स्वार्थी तथा टाठाबाठा व्यक्तिहरूले तपाईंहरूको नाम र हक–अधिकारको दुरुपयोग गर्दै अनुचित लाभ लिने प्रयास गरिरहेका छन, जसको बारेमा तपाईहरू स्वयम् जानकार हुनुहुन्छ,’ प्रहरीले भनेको छ ।
‘त्यस्ता व्यक्तिहरूको कारण वास्तविक सुकुम्वासी, भूमिहीनहरू अवसरबाट वञ्चित हुने तथा राज्यबाट प्राप्त हुने सेवासुविधाबाट समेत टाढा रहनुपर्ने अवस्था सिर्जना भइरहेको छ,’ सूचनामा उल्लेख छ ।
सूचनामा भनिएको छ, ‘जसले गर्दा वास्तविक सुकुम्वासी, भूमिहीनहरू सघैं अन्यायमा परिरहनु भएको छ र यो समस्या जहिले पनि ज्यूँका त्यूँ रहि आएको छ ।’
‘त्यसैले, तपाईहरू आफै सजग भई आफ्नो हक मिच्ने त्यस्ता नक्कली सुकुम्वासी, भूमिहीन व्यक्तिहरूको पहिचान गर्नुहोस्,’ प्रहरीले अनुरोध गरेका छ ।
‘वास्तविक सुकुम्वासी, भूमिहीनहरू एकजुट भएर राज्यले गर्न लागेको व्यवस्थापन कार्यमा सहयोग तथा सहकार्य गरी सुरक्षा निकायलाई समयमै सही सूचना दिई सहयोग गरिदिनुहुन हामी विनम्र अनुरोध गर्दछौं,’ प्रहरीले भनेको छ ।
‘तपाईको एउटा सानो सहयोगले मात्र वास्तविक पीडितको न्याय, अधिकार र सुरक्षित आवास सहितको भविष्य सुनिश्चित हुने,’ प्रहरीको सूचनामा भनिएको छ ।
नेपाल सरकारले प्रहरीको सहयोगमा काठमाडौं उपत्यकामा सुकुम्बासीका नाममा बागमती नदीको जग्गा कब्जा गरेर बसोबास गरेकाहरूलाई हटाउन थालेको छ ।
बिचार/ब्लग

फेसबुकबाट तपाईको प्रतिक्रिया