‘माया भनेकै यस्तो होला’ भदौ २६ मा रिलिज, निर्माण पक्ष र वितरकहरूबीच सहमति
काठमाडौं । अभिनेत्री रेखा थापाको निर्देशन रहेको चलचित्र ‘माया भनेकै यस्तो होला’को प्रदर्शन मिति औपचारिक रूपमा घोषणा गरिएको छ ।
निर्माण पक्ष र वितरकहरूबीच भएको आपसी सहमति र सम्झौतानुसार चलचित्र आगामी भदौ २६ गतेबाट देशभरका सिनेमाघरमा प्रदर्शनमा आउनेछ ।
यसअघि निर्माण पक्षले चलचित्र तीजको अवसर पारेर प्रदर्शनमा आउने जानकारी दिए पनि ठोस मिति भने तय गरेको थिएन ।
वितरकहरूसँगको पछिल्लो चरणको छलफलपछि तीजको विशेष अवसर र कुशे औंसी (बुबाको मुख हेर्ने दिन)का दिन चलचित्र रिलिज गर्न लागिएको छ ।
चलचित्रलाई देशभरका प्रमुख वितरक कम्पनीहरू रिच इन्टरटेन्मेन्ट, एप्पल इन्टरटेन्मेन्ट र एफडी कम्पनीले वितरणको जिम्मा लिएका छन् ।
रेखाले यसै चलचित्रमार्फत ८ वर्षपछि निर्देशनमा पुनरागमन गरेकी हुन् । रेखाले यसअघि ‘हिम्मतवाली’ र ‘मालिका’ जस्ता सफल चलचित्रको निर्देशन गरिसकेकी छिन् ।
‘दीया एण्ड अमु फिल्मस्’को ब्यानरमा निर्माण भएको चलचित्रमा नेपाली कला क्षेत्रका दिग्गजदेखि वर्तमानका चर्चित कलाकार छन् ।
चलचित्रमा मदनकृष्ण श्रेष्ठ, दिल श्रेष्ठसँगै पूर्व मिस नेपालहरू सृष्टि श्रेष्ठ, नम्रता श्रेष्ठ र पूर्वमिस नेपाल इन्टरनेसनल नीति शाहको मुख्य भूमिका छ । विशेष भूमिकामा पूर्वमिस नेपाल उषा खड्गीको पनि अभिनय छ ।
‘दीया एण्ड अमु फिल्मस्’को ब्यानरमा निर्माण यो चलचित्रमा लक्ष्मी गिरी, विशाल पहाडी, संगम भण्डारी, रवि डंगोल, सुनिता श्रेष्ठ र विनोद पौडेल लगायतको अभिनय छ ।
गत चैत २८ गते चलचित्रको छायाकंन सम्पन्न भएको थियो । चलचित्रको हाल पोस्टको काम भइरहेको छ ।
चलचित्रका निर्माता हरिनारायण श्रेष्ठ र मायादेवी श्रेष्ठ हुन् । ध्रुव लम्सालको पटकथा लेखन रहेको चलचित्रले प्रेमकथाका माध्यमबाट सामाजिक भावना र परिवेशलाई चित्रण गर्नेछ ।
सुदीप बरालको छायांकन रहेको चलचित्रमा अनिरुद्ध आत्रेय प्रमुख सहायक निर्देशक, राजन घिमिरे फिल्म संयोजक, संगीत प्रशान्त सिवाकोटी, ड्रेस डिजाइनर सुजेनी मल्ल, मेकअप प्रिया कार्की, प्रोडक्सन चुडामणि (सीएम) छन् ।
बिचार/ब्लग

फेसबुकबाट तपाईको प्रतिक्रिया