बाराका तत्कालीन ईञ्जिनियर र पत्नीविरुद्ध अख्तियारद्वारा भ्रष्टाचार मुद्दा दायर

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले खानेपानी तथा सरसफाई डिभिजन कार्यालय, कलैया, बाराका तत्कालीन ईञ्जिनियर (आठौँ तह) किशोरप्रसाद यादवविरुद्ध भ्रष्टाचारको मुद्दा दायर गरेको छ ।

बिहीबार अख्तियारले यादवविरुद्ध विशेष अदालत काठमाडौंमा भ्रष्टाचारको अभियोगमा भ्रष्टाचारको मुद्दा दायर गरेको प्रेस विज्ञप्तिमार्फत जनाएको छ ।

ईञ्जिनियर यादवले आफ्नो सेवा अवधिमा प्राप्त बैध आयभन्दा १ करोड ४६ लाख ८१ हजार रुपियाँ कमाएको देखिएको अख्तियारले जनाएको छ ।

यादवको सेवामा प्रवेश गरेको मिति २०४७ सालदेखि २०८० सम्मको आयव्ययको अख्तियारले अनुसन्धान गरेको थियो । यो अवधिमा यादवको परिवारको कूल वैध आय ३ करोड ४६ लाख रुपियाँ देखिएको छ ।

सोही अवधिमा ईञ्जिनियर यादवले जग्गा खरिद, घर निर्माण, सेयर खरिद, सवारी साधन र अध्ययन लगायतमा ४ करोड ९३ लाख रुपियाँ खर्च गरेका छन् ।

अवैध रुपमा आर्जन गरेको सम्पत्ति ईञ्जिनियर यादवले श्रीमती निर्मलाकुमारी यादवको नाममा समेत राखेको देखिएको छ । अख्तियारले निर्मलालाई पनि प्रतिवादी बनाएको छ ।

Published : Thursday, 2026 April 23, 8:28 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया