झापामा श्री जनता माविको नयाँ भवनको शिलान्यास, भारत सरकारद्वारा आर्थिक सहयोग

दमक । झापाको गौरादहमा रहेको श्री जनता माध्यमिक विद्यालयको नयाँ भवनको शिलान्यास गरिएको छ ।

नेपाल–भारत विकास सहयोग अन्तर्गत विद्यालयको भवनको शिलान्यास गरिएको हो । विद्यालयको भवनका लागि भारत सरकारले सहयोग गर्न लागेको छ ।

कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले गौरादह नगरपालिका वडा नं. १ मा रहको विद्यालयको शिलान्यास गरेका हुन् ।

भारतीय राजदूतावासको ९० प्रतिशत र गौरादह नगरपालिकाको १० प्रतिशत संयुक्त लगानीमा निर्माण हुन लागेको छ । मुख्यमन्त्री कार्कीले शैक्षिक पूर्वाधारको विकासले नै प्रदेशको समृद्धिको आधार तयार गर्ने बताएका छन् ।

कुल ६ करोड ६३ लाख १५ हजार ५ सय ८२ रुपियाँ लागतमा निर्माण हुन लागेको विद्यालय भवनको ठेक्का सम्झौता कुश्वाहा ब्रदर्स इन्जिनियरिङ सोलुसन र नयाँ नेपाल निर्माण सेवा जेभीले पाएका छन् । परियोजना अन्तर्गत २२ हजार ८ सय ३६ दशमलव ३ वर्ग फिट क्षेत्रफलमा भुइँतल्ला र पहिलो तल्ला आरसिसी संरचनाको बन्नेछ ।

दोस्रो तल्लामा ११ हजार ४ सय १८ दशमलव १५ वर्ग फिटको ट्रस भवन निर्माण गरिनेछ । २०८२ फागुन १७ गते सम्झौता भई फागुन ३० गतेदेखि कार्य प्रारम्भ भएको यो भवनलाई २०८४ साल जेठ १६ गतेभित्र सम्पन्न गर्ने लक्ष्य राखिएको छ ।

नेपालका लागि भारतीय दूतावासको ठूलो आर्थिक सहयोगमा बन्न लागेको यो आधुनिक भवनले विद्यार्थीका लागि गुणस्तरीय र सुरक्षित शैक्षिक वातावरण प्रदान गर्ने विश्वास विद्यालयले लिएको छ ।

Published : Thursday, 2026 April 23, 8:11 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया