सहकारीहरूको वर्गीकरण गरेर चिन्ह प्रदान गर्नुपर्छ : मन्त्री रायमाझी
भरतपुर । बागमती प्रदेशकी सहकारी तथा गरिबी निवारणमन्त्री विनु रायमाझी पौडेलले अब सहकारीहरूको पनि वर्गीकरण गरिनुपर्ने बताएकी छिन् ।
बिहीबार बागमती प्रदेश सहकारी संघ लिमिटेडको आयोजनामा चितवनको भरतपुरमा आयोजित कार्यक्रममा मन्त्री रायमाझीले सहकारीहरूको स्तर अनुसार नै क, ख, ग या रेड, यलो, ग्रिन लगायतका चिन्हहरूमार्फत सहकारीको वर्गीकरण गर्न लागिएको बताइन् । उनले सहकारी मन्त्रालय रहेको मकवानपुरको हेटौंडामा पनि सहकारी रजिस्ट्रार कार्यालयको शाखा खोल्न लागेको बताएकी छिन् ।
जिल्ला सहकारी संघ, चितवनका अध्यक्ष शरदकुमार बर्तौलाले सहकारीहरूलाई डिजिटलाइजेसन गर्न जरुरी भएको बताए । उनले सहकारीमा युवा वर्गलाई समेट्ने कार्यक्रमहरू ल्याउन पर्ने बताएका छन् ।
राष्ट्रिय सहकारी महासंघकी सञ्चालक पार्वती न्यौपानेले सहकारी सञ्चालनमा नीतिगत पैरवी गर्नुपर्ने बताइन् । उनले सहकारीप्रति विश्वासको वातावरण बनाउनको लागि पनि पारदर्शितालाई विशेष ख्याल गर्नुपर्ने बताएकी छिन् ।
चितवन र मकानपुरका ७० भन्दा धेरै सहकारीमा आबद्ध सहकारी अभियन्ताहरू सहभागी कार्यक्रम शुक्रबारसम्म चल्नेछ । कार्यक्रममा सहकारीले वर्तमानमा खेप्नुपरेको समस्या, सहकारीका मुद्दा, भावी कार्यनीति लगायत विभिन्न विषयमा छलफल गरिनेछ ।
बिचार/ब्लग

फेसबुकबाट तपाईको प्रतिक्रिया