अपराध नियन्त्रण गर्न सूचना संकलन र विश्लेषणमा विशेष ध्यान दिनुस् : आईजीपी कार्की

काठमाडौं । नेपाल प्रहरीका प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले सबै प्रहरी कर्मचारीहरूले उत्कृष्ट बोली वचन एवम् व्यवहारलाई आत्मसात् गरी नागरिकको अपेक्षा अनुरूप सेवा प्रवाह गर्न निर्देशन दिएका छन् ।

बुधबार नेपाल प्रहरी प्रधान कार्यालय, नक्सालबाट भर्चुअल माध्यमद्वारा समसामयिक विषयवस्तुमा प्रहरी कर्मचारीहरूलाई निर्देशन दिँदै कार्कीले सरकारद्वारा लागू गरिएका नीति तथा कार्यक्रमहरूलाई प्रभावकारी रूपमा कार्यान्वयन गरी आ–आफ्नो क्षेत्रमा कुनै पनि आपराधिक क्रियाकलापका घटनाहरू हुन नदिन सूचना संकलन तथा विश्लेषण गर्न निर्देशन दिए । सूचन संकलन तथा विश्लेषणलाई प्राथमिकतामा राखि सोही अनुरूप आवश्यक सुरक्षा रणनीति अपनाई प्रभावकारी रूपमा प्रहरी परिचालन गर्न उनले आग्रह गरे ।

लागूऔषध उत्पादन, ओसारपसार तथा कारोबारमा संलग्नलाई कानुनी दायरामा ल्याउन तथा सेवनकर्ताहरूलाई लक्षित गरी सुधारात्मक कार्यक्रमहरू गर्न प्रहरी थप क्रियाशील हुनुपर्ने आईजीपी कार्कीले बताएका छन् ।

सीमा नाकामा हुनसक्ने आपराधिक गतिविधि एवम् तस्करी नियन्त्रणमा शून्य सहनशीलताको नीति अवलम्बन गरी कार्य गर्न पनि उनले निर्देशन दिएका छन् ।

गुण्डागर्दीविरूद्ध थप निर्मम रूपमा प्रस्तुत हुन उनले आग्रह गरेका छन् । फैसला कार्यान्वयन तथा फरार प्रतिवादी पक्राउलाई तदारूकताका साथ दायित्वबोध गरी अझ सक्रिय रूपमा कार्य गर्न उनले निर्देश दिएका छन् ।

आईजीपी कार्कीले परिवर्तनलाई आत्मसात् गरी सोही अनुरूप समाजमा शान्ति सुव्यवस्था कायम गर्न प्रहरीको सक्रियता तथा प्रभावकारिता अझ वृद्धि गर्न जरूरी रहेको बताए । उनले अन्तर्राष्ट्रियस्तरसम्म प्रहरीको छवि वृद्धि हुने गरी आ–आफ्नो जिम्मेवारीमा उच्च व्यावसायिकता प्रदर्शन गरी कार्य गर्न सबै प्रहरी कर्मचारीहरू कटिवद्ध हुनुपर्ने पनि बताएका छन् ।

समुदाय प्रहरी साझेदारी कार्यक्रमलाई प्राथमिकतामा राखि नागरिक सुनुवाई कार्यक्रमहरू मार्फत उचित सूचनाहरू प्रवाह गरी नागरिकहरूले महसुस गर्न सक्ने गरी प्रहरीले सेवा दिनुपर्ने उनले बताए ।

व्यक्तिगत स्वार्थभन्दा माथि उठेर सांगठनिक उद्देश्य एवम् लक्ष्य प्राप्तीको लागि सबै प्रहरी कर्मचारीहरू प्रतिबद्ध हुनुपर्ने उनले बताएका छन् । गैरव्यावसायिक क्रियाकलापमा संलग्न प्रहरी कर्मचारीहरूलाई कानूनी दायरामा ल्याइने आईजीपी कार्कीले बताएका छन् ।

Published : Wednesday, 2026 April 22, 9:45 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया