आन्तरिक मतभेदलाई संवादमार्फत समाधान गरी कांग्रेसलाई सुदृढ बनाउनुपर्छ : नेता महर

काठमाडौं । नेपाली कांग्रेसका नेता नैनसिंह महरले पार्टीभित्रको एकता नै वर्तमान राजनीतिक परिस्थितिमा सबैभन्दा ठूलो आवश्यकता भएको बताएका छन् ।

मंगलबार काठमाडौंमा आयोजित भ्रातृ संगठनका नेताहरूसँगको छलफल कार्यक्रमलाई सम्बोधन गर्दै महरले भने, ‘कांग्रेस एकवद्ध भएर अघि बढ्नुको विकल्प छैन । आन्तरिक मतभेदलाई संवादमार्फत समाधान गर्दै पार्टीलाई सुदृढ बनाउनुपर्छ ।’

उनले देशको लोकतान्त्रिक प्रणालीलाई सुदृढ बनाउन सशक्त र जिम्मेवार कांग्रेस आवश्यक रहेको बताए । पार्टी कमजोर भएमा समग्र लोकतन्त्र नै कमजोर हुने महरले बताए ।

‘हाम्रो जिम्मेवारी केवल पार्टीभित्र सीमित छैन, देश र लोकतन्त्रप्रति पनि उत्तिकै छ, सरकार दूई तिहाईको दम्ब देखाएर जनताका दैनिक जनजिवनमा आएका समस्या प्रति उदासिन देखिएको छ’ उनले भने ।

‘सरकारलाई जनताप्रति जिम्मेवार बनाउन पनि प्रमुख प्रतिपक्ष दलले अहम भूमिका खेल्ने बेला आएको छ,’ उनले भने ।

अहिले विद्यार्थी संगठनमाथि सरकारले लगाउने प्रतिबन्ध नेपालको संविधानको बर्खिलाप भएको तर, विद्यार्थी राजनीतिभित्र अत्यधिक सुधारको आवश्यकता रहेको उनले बताए ।

नेता महरले युवाहरूलाई पार्टीको मुख्य शक्तिको रूपमा उल्लेख गर्दै उनीहरूको सक्रिय सहभागिताविना पार्टीको भविष्य सुदृढ नहुने बताएका छन् ।

उनले अवसर, नेतृत्व विकास र नीतिगत सहभागितामार्फत युवाहरूलाई अगाडि ल्याउनुपर्ने बताए ।

महरले सबै नेता तथा कार्यकर्तालाई व्यक्तिगत स्वार्थभन्दा माथि उठेर पार्टीको सामूहिक हितमा लाग्न आह्वान गरेका छन् । उनले भने, ‘हामी सबै एकजुट भयौं भने मात्रै कांग्रेसलाई अझ बलियो र देशलाई समृद्ध बनाउन सक्छौं ।’

Published : Tuesday, 2026 April 21, 3:10 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया