सप्तरीका एसपी केसीमाथि छानविन गर्न एसएसपीको संयोजकत्वमा समिति गठन
जनकपुर । विवादास्पद सम्वाद सार्वजनिक भएपछि जिल्ला प्रहरी कार्यालय, सप्तरीका प्रहरी प्रमुख प्रहरी उपरीक्षक (एसपी) गौतमकुमार केसीमाथि छानबिन शुरू भएको छ ।
एसपी केसी र एक व्यक्तिबीचको विवादास्पद फोन संवाद सार्वजनिक भएसँगै उनीमाथि छानबिन थालिएको मधेश प्रदेश प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब महानिरीक्षक (डीआईजी) गोविन्द थपलियाले बताए ।
एसपी केसीमाथि छानविन गर्न एसएसपी कमल थापा संयोजक रहेको ५ सदस्यीय छानबिन समिति बनाइएको छ ।
सामाजिक सञ्जालमा भाइरल अडियोमा एसपी केसी र तिलाठी कोइलाडी गाउँपालिका–४ का सञ्चारकर्मी प्रह्लाद सिंह ‘विक्की’बीच संवाद भएको बताइएको छ ।
संवादमा एसपी केसीले राजविराज नगरपालिका–३ का मुस्तकिम आलमलाई लक्षित गर्दै गालीगलौज तथा धम्कीपूर्ण भाषा प्रयोग गरेको सुनिन्छ ।
उक्त अडियोसँग जोडिएका मुस्तकिम आलमले आफूमाथि अन्याय भएको बताएका छन् । उनले सामाजिक सञ्जालमार्फत प्रहरी प्रमुखले आफूलाई धम्क्याएको र फसाउन खोजेको आरोप लगाएका छन् । उनले भने, ‘मैले अन्यायविरुद्ध आवाज उठाएँ । त्यसकै कारण मलाई लक्षित गरियो । केही दिनअघि मलाई फोन गरेर धम्क्याइयो । अरू व्यक्तिमार्फत मलाई फसाउने प्रयास पनि भइरहेको छ ।’
आलमको यो अभिव्यक्तिले घटनालाई झनै संवेदनशील बनाएको छ । आरोप प्रमाणित भए, यो केवल व्यक्तिगत दुर्व्यवहार नभई अधिकारको दुरुपयोगको गम्भीर मुद्दा बन्न सक्छ ।
एसपी केसी बेलाबेला विवादमा पर्दै आएका छन् । जिल्ला प्रहरी कार्यालय, धादिङमा हुँदा समेत एसपी केसी विवादमा परेका थिए ।
बिचार/ब्लग

फेसबुकबाट तपाईको प्रतिक्रिया