कांग्रेसभित्र वृहत्तर हित र एकतामा सभापतिजीको धेरै जिम्मेवारी रहन्छ : डा.शेखर कोइराला

काठमाडौं । नेपाली कांग्रेसका नेता डा.शेखर कोइरालाले सर्वोच्च अदालतको फैसलालाई स्वीकार गर्दै पार्टी सुदृढीकरण गरेर जानुपर्ने बताएका छन् ।

आइतबार काठमाडौंको बालुवाटारस्थित सम्पर्क कार्यालयमा आफू निकटका नेताहरूसँगको बैठकमा डा.कोइरालाले पार्टी सभापति गगनकुमार थापाले जिम्मेवारीका साथ सबैलाई समेटेर जानुपर्ने बताएका हुन् । उनले विशेष महाधिवेशनबारे सर्वोच्च अदालतको फैसला आइसकेपछि पार्टीभित्र एकता कायम राख्न सबैको भूमिका हुने भए पनि सभापति थापाको जिम्मेवारी बढी रहने जनाएका हुन् ।

बैठकपछि पत्रकारहरूसँग कुरा गर्दै पूर्वसहमहामन्त्री जीवन परियारले भने, ‘हामी सबैलाई विदितै छ– विशेष महाधिवेशनका बारेमा पार्टीमा विभिन्न दृष्टिकोण रहिआएको भएतापनि त्यसबेला हामीले मतैक्यता गराउने भरमग्दुर प्रयत्न गरिरह्यौँँ ।’

‘अब विशेष महाधिवेशनबारे सर्वोच्च अदालतको फैसला आइसकेपछि नयाँ परिस्थिति उत्पन्न भएको छ,’ परियारले भने ।

उनले भने, ‘वर्तमान अवस्थामा नेपाली कांग्रेसभित्र वृहत्तर हित, एकता र सुदृढ संगठन निर्माण गर्नु हामी सबैको साझा जिम्मेवारी हो । तथापि पार्टी केन्द्रीय कार्यसमिति एवं सभापतिको अझ बढीनै जिम्मेवारी रहन्छ ।’

‘यस कठिन परिस्थितिमा पार्टीका आगामी चुनौतीलाई सामना गर्न हामी सबै आ–आफ्नो ठाउँबाट जिम्मेवार र प्रतिबद्ध रहन समेत पार्टीका सम्पूर्ण साथीहरूलाई आग्रह गर्दछ,’ परियारले भनेका छन् ।

Published : Sunday, 2026 April 19, 5:06 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया