अख्तियारद्वारा अर्का ठूलो माछाविरुद्ध करोडौंको भ्रष्टाचार मुद्दा दायर, पत्नी र छोरी पनि तानिए

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले काठमाडौं उपत्यका विकास प्राधिकरणका तत्कालीन विकास आयुक्त भाइकाजी तिवारीविरुद्ध १० करोडभन्दा धेरै रकम बराबरको भ्रष्टाचार मुद्दा दर्ता गराएको छ ।

बिहीबार अख्तियारले विशेष अदालत, काठमाडौंमा तिवारीविरुद्ध भ्रष्टाचारको मुद्दा दायर गरेको प्रेस विज्ञप्तिमा उल्लेख छ । तिवारीमाथि १० करोड ५४ लाख ९५ हजार ८ सय ७१ रुपियाँभन्दा बढी बिगो दाबी अख्तियारले गरेको छ ।

तिवारीविरुद्धको भ्रष्टाचार मुद्दाले विगतमा भएका निर्णय, ठेक्का तथा योजनाहरूको पारदर्शितामाथि गम्भीर चासो सिर्जना गरेको छ ।

तिवारी र उनकी पत्नीको पारिश्रमिक र अन्य आय तथा जग्गा बिक्री आयमार्फत १४ करोड ५१ लाख ९१ हजार ३ सय ५६ रुपियाँ वैधानिक आम्दानी देखिएपनि बैंक खाता, घरजग्गा र अन्य सम्पत्ति जाँचबुझ गर्दा २५ करोड ६ लाख ८७ हजार २ सय २७ रुपियाँबराबरको देखिएको अख्तियारले जनाएको छ ।

तिवारीको २०४४ सालदेखि २०७८ सालसम्मको सेवाअवधिमा वैधानिक आम्दानी १४ करोड ५५ लाख ९१ हजार रुपियाँमात्रै देखिएको अख्तियारले जनाएको छ । सोही अवधिमा उनको खर्च तथा लगानी २५ करोड ६ लाख ८७ हजार रुपियाँ पुगेको पाइएको छ । यसरी हेर्दा आम्दानीभन्दा १० करोड ५४ लाख रुपियाँ बढी खर्च भएको निष्कर्ष अख्तियारले निकालेको छ ।

अनुसन्धानका क्रममा तिवारीले आर्जन गरेको गैरकानूनी सम्पत्ति आफ्नी श्रीमती मीनादेवी तिवारी र छोरी मीरा तिवारीको नाममा समेत राखेको भेटिएपछि उनीहरूलाई पनि प्रतिवादी बनाइएको छ । अख्तियारले उनीहरूको नाममा रहेको सम्पत्ति जफत गर्न माग गरेको छ ।

अख्तियारले भ्रष्टाचार निवारण ऐन २०५९ बमोजिम बिगोबराबर जरिवाना, कैद तथा थप सजायको माग गरेको छ । झुट्टा सम्पत्ति विवरण पेश गरेको अभियोगमा पनि कारबाही माग गरिएको छ ।

Published : Thursday, 2026 April 16, 10:40 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया