बिहान उठ्दा पेट्रोलियम पदार्थको मूल्य २ सय पार भयो, किसानलाई समस्या भयो : कांग्रेस सांसद खाँ

मसुरिया । नेपाली कांग्रेस लुम्बिनी प्रदेश सभाका सदस्य बशिउद्धिन खाँले पेट्रोेलियम पदार्थमा भएको मूल्य बृद्धिले किसानलाई समस्या बनाएको बताएका छन् ।

शुक्रबार देउखुरीको मसुरियास्थित लुम्बिनी प्रदेश सभाको बैठकमा विशेष समयमा बोल्दै सांसद खाँले पेट्रोलियम पदार्थको मूल्य बृद्धिले किसान र उद्योगी व्यवसायीहरूलाई समस्या बनाएको बताए । उनले भने, ‘राति सुत्दा पेट्रोलियम पदार्थको एउटा भाउ, बिहान उठ्दा अर्को भाउ हुन्छ । त्राहीमान भएको छ । दुई सय पार भइसकेको छ ।’

‘पेट्रोलियम पदार्थको मूल्य बृद्धि हुँदा अहिले गहुँ काट्ने सिजन छ, कम्बाइनले पनि भाडा बढाइदिएको छ,’ पूर्वमन्त्री समेत रहेका खाँले भने, ‘किसानलाई समस्या बनाएको छ । यातायातको ढुवानीको साधनले भाडा बढाएको छ । उत्पादनमा कमी आइरहेको छ । अर्थतन्त्रको चक्र डावाडोल छ ।’

कांग्रेसका सांसद खाँले दमकल उपलब्ध गराउन लुम्बिनी प्रदेश सरकारसँग पटक पटक अनुरोध गर्दा समेत मागको सुनुवाई हुन नसकेको बताए ।

उनले आगलागीबाट रुपन्देहीको मर्चवार क्षेत्रमा ज्यान गइरहेको बताए । उनले भने, ‘चैत, वैशाख र जेठ महिना आगलागी हुने समय हो । विगत दुई वर्षदेखि दमकल भन्दाभन्दै आफैलाई लज्जाबोध हुन थाल्यो ।’

‘कहाँ अड्किएको छ ? चैत २४ गते हाम्रो क्षेत्रमा दमकल भएको भए बृद्ध आमाको जलेर मृत्यु हुने थिएन । मान्छे मरिरहेका छन्,’ सांसद खाँले भने, ‘दमकल ल्याएर तपाईहरू कम्पाउण्डमा राख्नुभएको छ । भुक्तानी केको लागि रोकिएको छ ? प्रदेश सरकारसँग विपद व्यवस्थापन कोष पनि छ ।’

उनले भने, ‘आर्थिक मन्त्रालयमा केही सञ्चित कोष पनि होला । दमकलको भुक्तानी किन रोकिएको छ ? केही कानून बाधा अड्चन छभने त्यसलाई कसरी फुकाउने ? फुकाऔँ । नेता र मन्त्रीहरूलाई मात्रै दोषी दिने हो की ब्यूरोक्रेटको साथीहरू हुनुहुन्छ ।’

‘प्रमुख सचिव हुनुहुन्छ । उहाँहरूको केही दायित्व पनि छ कि छैन ? कर्मचारीहरूले भुक्तानी दिन नियमले मिल्दैन भन्ने सुन्नमा आएको छ,’ उनले भने, ‘के नियमले मिल्दैन ? यो सभाले ताकत राख्छ कि राख्दैन ? मान्छे मरिरहेको छ । भुक्तानी दिन सकेको छैन । यत्ति पनि हैसियत छैन यो सभाको ? कर्मचारीहरूले कलम चलाउन सक्नु हुँदैन भने किन तपाईहरू कुर्सीमा बसिराख्नु हुन्छ ? सदनमा प्रस्ताव ल्याउनुस् । पास गर्छौ ।’

सांसद खाँले मर्चवारमा यातायातको समस्या रहेको भन्दै फोरलेनको बाटोलाई बढाएर बोर्डरसम्म लैजान आग्रह गरेका छन् । उनले भने, ‘प्रत्येक वर्ष दुर्घटना हुन्छ । हिजो पनि सडक दुर्घटनामा एक जनाले ज्यान गुमाउनु परेको छ ।’

सांसद खाँले आगलागी र सडक दुर्घटनामा मृत्यु भएकाहरूप्रति श्रद्धाञ्जलि व्यक्त गर्दै परिवारजनप्रति समवेदना प्रकट गरेका छन् ।

उनले भने, ‘चैत २४ गते रुपन्देही जिल्लाको मायादेवी गाउँपालिका वडा नं. ६ गुरनिया गाउँमा आगलागी भएको छ । आगलागीमा परेर वर्ष ७० की जोखिमी अरिनको मृत्यु भएको छ । मर्चवार माई गाउँपालिका वडा नं. ३ का पूर्वअध्यक्ष भैरहवाबाट मर्चवार जाने क्रममा सडक दुर्घटनामा परेर दिवंगत हुनुभएको छ । उहाँ दुबै जनाप्रति हार्दिक श्रद्धासुमन अर्पण गर्न चाहन्छु ।’

Published : Friday, 2026 April 10, 1:50 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया