दाइलाई छुरा प्रहार हुँदा बचाउन जाँदा दाइभाइकै ज्यान गयो, फोनले निम्तायो ठूलो दुर्घटना

जावलाखेल । जिल्ला प्रहरी परिसर, ललितपुरले दुई दाजुभाइको हत्या अभियोगमा दुई अभियुक्तहरूलाई नियन्त्रणमा लिएको छ ।

ललितपुर प्रहरीका एसएसपी होबिन्द्र बोगटीका अनुसार बुधबार साँझ १९ः३० बजेको समयमा ललितपुरको मंगलबजारस्थित कृष्णमन्दिर अगाडि दुई पक्षबीच कुटपिट एवम् चक्कु प्रहार भएको थियो । त्यस क्रममा चक्कु प्रहारबाट गम्भीर घाइते भएका झापाको कमला गाउँपालिका ४ घर भइ हाल ललितपुरको महालक्ष्मी नगरपालिका १ ईमाडोल बस्ने वर्ष ३३ का सुमित नेम्वाङ र उनको भाइ २५ वर्षीय सृजन नेम्वाङको उपचारका क्रममा २०ः०० बजे मृत्यु भएको डीएसपी हेमन्त भण्डारी क्षेत्रीद्वारा बिहीबार जारी प्रेस विज्ञप्तिमा उल्लेख छ । घाइते दाजुभाइलाई प्रहरीले तत्काल उद्धार गरेर ग्वार्कोस्थित बी एण्ड बी अस्पतालमा पु¥याएको थियो ।

प्रहरीले घटनामा संलग्न रहेको अभियोगमा ललितपुर महानगरपालिका ९ भोलाढोका बस्ने वर्ष ३२ को सञ्जु भन्ने सञ्जीव नेपाली र नवलपरासीको गैंडाकोट नगरपालिका १ घर भइ हाल ललितपुर महानगरपालिका वडा नं. ८ बस्ने वर्ष २२ का गगन सुनारलाई २०ः३० बजे पक्राउ गरेको डीएसपी क्षेत्रीले बताए ।

अभियुक्तहरूको साथबाट प्रहरीले धारिलो हतियार छुरा, फलामे नक, घटनामा प्रयोग भएको सञ्जु भन्ने सञ्जीव नेपालीको प्रदेश ३–०२–००९ प १०६३ नम्बरको स्कुटर, मोबाइल दुई थान पनि बरामद गरेको छ ।

सुमित नेम्वाङले झुक्किएर फोन गर्ने क्रममा भएको विवादले सञ्जु भन्ने सञ्जीव नेपालीले मासु काट्ने छुराले प्रहार गरेका थिए । दाइ सुमित नेम्वाङलाई बचाउन जाँदा भाइ सृजन नेम्वाङलाई पनि छुरा प्रहार गरेर हत्या भएको छ ।

प्रहरीको विज्ञप्तिा भनिएको छ, ‘घटनाको प्रारम्भीक अनुसन्धानको क्रममा ललितपुर जिल्ला ईमाडोल बस्ने सुमित नेम्वाङले फोन गर्ने क्रममा झक्किएर अपरिचित नम्बरमा फोन गएको र फोन रिसिभ गर्ने व्यक्तिले गाली गलौज गरे पश्चात फोनमा भनाभन उत्पन्न भइ दुबै पक्ष मंगलबजार कृष्ण मन्दिरमा भेट्ने सहमति भइ सुमित नेम्वाङ आफ्नो भाइ सृजन नेम्वाङ र साथीहरूसहित दिउँसोदेखि घुम्न मंगलबजारमा नै रहेकोमा अर्को पक्ष समेत तत्काल कृष्ण मन्दिर अगाडि आइ भेटघाट गरी कुराकानी गर्ने क्रममा सञ्जीव नेपालीले आफ्नो साथमा ल्याएको मासु काट्ने छुराबाट सुमित नेम्वाङमाि प्रहार गरेको र निजको भाइ बचाउन जाँदा भाइलाई समेत घाँटी र पेटमा छुरा प्रहार गरी छुरासहित घटनास्थलबाट भाग्न सफल भएको देखिएको । सामान्य विषयमा अपरिचित युवाहरूले आफ्नो क्षणिक आवेगलाई नियन्त्रणमा लिन नसक्दा र छुरा प्रहार गर्ने व्यक्ति सञ्जीव नेपालीले सुनियोजित तरिकाले छुरा साथमा बोकेर आइ आक्रमण गर्दा उक्त घटना भएको देखिएको छ ।’

छुरा प्रहार गर्ने सञ्जु भन्ने सञ्जीव नेपाली सन्की खालको व्यक्ति भएको एसएसपी बोगटीले बताएका छन् । सञ्जीवका विषयमा अनुसन्धान गर्ने क्रममा विगतमा उनको व्यवहार राम्रो नरहेको बोगटीले बताए ।

Published : Thursday, 2026 April 9, 2:37 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया