उपसभामुखको निर्वाचन चैत २७ गते हुने, अर्यालद्वारा कार्यतालिका सार्वजनिक

काठमाडौं । संघीय संसदको उपसभामुखको निर्वाचन चैत २७ गते हुने गरेर कार्यतालिका सार्वजनिक भएको छ ।

बुधबार बसेको प्रतिनिधिसभाको बैठकमा सभामुख डोलप्रसाद अर्यालले उपसभामुखको निर्वाचनको मिति तय गरेको जानकारी दिए ।

प्रतिनिधिसभा नियमावलीको नियम ७ मा सभामुख र उपसभामुखको निर्वाचनसम्बन्धी व्यवस्था छ । जसअनुसार सभामुख चयन भएसँगै उपसभामुखको निर्वाचन प्रक्रिया अगाडि बढेको हो ।

यही चैत २२ गते सभामुखको निर्वाचन भएको थियो । उक्त निर्वाचनमा अर्यालको एकल उम्मेदवारी परेकाले उनी निर्विरोध निर्वाचित भएका थिए ।

उपसभामुखको निर्वाचन सभामुखले तोकेको दिन र समयमा हुने व्यवस्था छ । यसअनुसार अर्यालले उपसभामुखको निर्वाचनको मिति तोकेका हुन् ।

सभामुख र उपसभामुखमा फरक दल र फरक लिंगको व्यक्ति हुनुपर्ने प्रावधान छ । प्रतिनिधिसभामा एउटै दलको मात्रै प्रतिनिधित्व भएको वा एकभन्दा बढी दल भएपनि एकल उम्मेदवारी परेको अवस्थामा सभामुख र उपसभामुख दुवै एउटै दलको पनि हुन सक्दछ ।

प्रतिनिधिसभामा रास्वपासहित ६ दल छन् । प्रतिनिधिसभामा रास्वपा दुई तिहाइ नजिक छ । २७५ सदस्यीय प्रतिनिधिसभामा रास्वपाको मात्रै १८२ सांसद छन् । नेपाली कांग्रेस ३८, एमाले २५, नेपाली कम्युनिस्ट पार्टी १७, श्रम संस्कृति पार्टी ७, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का ५ सांसद् छन् ।

यसकारण अब रास्वपाले जसलाई समर्थन गर्छ उही दलको उम्मेदवार उपसभामुखमा निर्वाचित हुन्छन् ।

Published : Wednesday, 2026 April 8, 9:25 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया