कांग्रेसको मुद्दामा अदालतको निर्णय पर्खिनुपर्छ, म कार्यसमितिकै निर्णयबाट जानुपर्छ भन्ने पक्षमा थिएँ : डा.शेखर कोइराला
काठमाडौं । नेपाली कांग्रेसका नेता डा.शेखर कोइरालाले पार्टीको आधिकारिकताका विषयमा सर्वोच्च अदालतमा दिएको मुद्दाको किनारा लाग्न बाँकी रहेको भन्दै अदालतबाट जे जस्तो निर्णय आउँछ त्यसमा रहेर अगाडि बढ्नुपर्ने बताए ।
शनिबार काठमाडौंमा आयोजित कार्यक्रममा नेता डा.कोइरालाले अदालतको प्रक्रिया जे–जस्तो भए पनि पार्टीलाई एकतावद्ध बनाउन आफू अन्त्यसम्म लागिरहने बताए ।
‘मुद्दाको छिनोफानो भोलिदेखि शुरु होला । अब कति दिन लाग्ने हो । समय लाग्छ लाग्दैन’, डा.कोइरालाले भने, ‘नेपाली कांग्रेसलाई एकढिक्का बनाउन, एक ठाउँमा ल्याउन म अन्त्यसम्म प्रयास गर्नेछु ।’
केन्द्रीय सदस्य समेत रहेका डा.कोइरालाले शुरूदेखि नै आफूले केन्द्रीय कार्यसमितिको निर्णयबाट विशेष अधिवेशनमा जानुपर्ने अडान राखेको बताए ।
डा.कोइरालाले सामाजिक सञ्जालहरूमा आफूलाई यो वा त्यो पक्षको भनेर प्रचार गरिएकोमा आपत्ति जनाएका छन् । उनले आफ्नो लक्ष्य कांग्रेसलाई एकढिक्का बनाउने भन्दै त्यसका लागि अन्तिमसम्म पनि प्रयास गर्ने बताए ।
कांग्रेसलाई एकढिक्का बनाएर आगामी निर्वाचनमा पहिलो राजनीतिक शक्तिको रुपमा स्थापित गराउने आफनो इच्छा रहेको डा.कोइरालाले बताएका छन् ।
नेता डा.कोइरालाले अबको लडाइँ वामपन्थीसँग भन्दा पनि लिबरल डेमोक्रेट्सहरूसँग हुने बताएका छन् । ‘पहिले–पहिले हाम्रो लडाइँ वामपन्थीहरूसित हुन्थ्यो, सजिलो थियो । अबको लडाइँ लिबरल डेमोक्रेट्सहरूसित छ’, उनले भने, ‘त्यो लडाइँमा हामी पछि पर्नुहुँदैन भन्ने मलाई लाग्छ । हाम्रो संगठन छ र हामी गर्न सक्छौं भन्ने विश्वास मैले लिएको छु ।’
उनले प्रतिनिधिसभा निर्वाचनमा पार्टीको पराजयलाई स्वीङ भोटको संज्ञा दिएका छन् । उनले मतदाताले पार्टी नछोडी मतमात्रै फेरेको बताए । उनले अब मत सिफ्ट हुन दिन नहुने बताए ।
संसदमा कांग्रेसको उपस्थिति कमजोर हुनुमा जनताको चाहना र नयाँ राजनीतिक हावाहुरीलाई बुझ्न नसक्नु मुख्य कारण रहेको डा.कोइरालाले बताए । ‘धेरैले भन्छन् कसरी हा¥यो, के ग¥यो, के भो भनेर’, उनले भने, ‘हावाहुरी–हुण्डरीहरू आयो, हामीले बुझ्नै सकेनौं भने पनि हुन्छ ।’
बिचार/ब्लग
अपमानित हुँदै गर्दा पनि देउवाले कांग्रेसलाई राष्ट्रियसभामा ठूलो दल बनाए, आज बत्ती बालेर खोज्नु पर्ने भयो
क्रिसु क्षेत्री, लेखक/कुटनीतिज्ञ

फेसबुकबाट तपाईको प्रतिक्रिया