सशस्त्र प्रहरीका ईन्स्पेक्टरलाई अख्तियारद्वारा घुसको रकमसहित गिरफ्तार

काठमाडौं । अख्तियार अनुसन्धान आयोगको टोलीले सशस्त्र प्रहरी बल, नेपालका सशस्त्र प्रहरी निरीक्षक (ईन्स्पेक्टर) वकिल अधिकारीलाई ४० हजार घुस, रिसवतको रकमसहित रंगेहात पक्राउ गरेको छ ।

शुक्रबार अख्तियारको टोलीले ईन्स्पेक्टर अधिकारीलाई धनुषाको कमला–ढल्केवर–बाग्मती सडक निर्माणखण्ड अन्तर्गत माटो तथा ग्राभेल फिलिङ्ग कार्यमा प्रयोग हुने सवारी साधनसँग घुस, रिसवत लिने क्रममा ४० हजारसहित नियन्त्रणमा लिएको प्रेस विज्ञप्तिमा उल्लेख छ ।

ईन्स्पेक्टर अधिकारी धनुषा सशस्त्र प्रहरी बल नेपाल सुरक्षा वेश नक्टाझिजमा कार्यरत छन् । उनले माटो तथा ग्राभेल फिलिङ्ग कार्यमा प्रयोग भएका सवारी साधनहरू रोक्न तथा फिल्डमा माटो, ग्राभेल झार्न नदिइ विभिन्न बहाना बनाइ दुःख दिएर हैरानी दिएपछि उजुरीको आधारमा अख्तियारले उनलाई घुसको रकमसहित नियन्त्रणमा लिएको हो ।

उनलाई अख्तियारको टोलीले धनुषाको मिथिला नगरपालिका वडा नं. १० लालगढबाट नियन्त्रणमा लिइएको प्रेस विज्ञप्तिमा उल्लेख छ ।

Published : Friday, 2026 April 3, 9:38 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया