गृहमन्त्री गुरुङद्वारा पशुपतिनाथको दर्शन र विधिपूर्वक पूजा

काठमाडौं । गृहमन्त्री सुधन गुरुङले पशुपतिनाथ मन्दिरको दर्शन गर्नुका साथै विधिपूर्वक पूजा–अर्चना गरेका छन् ।

बिहीबार बिहान पशुपतिनाथ मन्दिरमा पुगेर उनले पूजा गरेका हुन् । गुरुङले मन्दिर क्षेत्रको समग्र अवलोकन पनि गरेका छन् ।

गुरुङ गृहमन्त्री नियुक्त भएपछि पहिलोपटक पशुपतिनाथ दर्शनका लागि पुगेका हुन् ।

आजकै दिन हनुमान जयन्ती परेको अवसर पारेर गृहमन्त्री गुरुङले मन्दिर पुगेको निजी सचिवालयले जनाएको छ । यसलाई धार्मिक तथा सांस्कृतिक दृष्टिले विशेष दिनका रूपमा हेरिने गरिन्छ ।

हनुमान जयन्ती हिन्दू धर्मावलम्बीहरूका लागि अत्यन्त महत्वपूर्ण पर्वका रूपमा मनाइन्छ । आजका दिन भगवान् हनुमानको जन्म भएको विश्वास गरिन्छ । विशेषगरी शक्ति, भक्ति, साहस र निष्ठाको प्रतीकका रूपमा हनुमानलाई पूज्ने गरिन्छ । देशभरका मन्दिरहरूमा पूजा–अर्चना, भजन–कीर्तन तथा धार्मिक कार्यक्रमहरू आयोजना हुने गर्छन् । भक्तजनहरू बिहानैदेखि उपवास बस्दै मन्दिरमा दर्शनका लागि पुग्ने परम्परा रहेको छ ।

आजको दिन पशुपतिनाथ क्षेत्रमा पनि बिहानैदेखि भक्तजनको ठूलो भीड लागेको छ । सुरक्षाको विशेष व्यवस्था मिलाइएको थियो । मन्दिर परिसर व्यवस्थित र अनुशासित देखिएको छ ।

गृहमन्त्री गुरुङको उपस्थितिले सुरक्षा निकायहरू थप सक्रिय देखिएका थिए ।

Published : Thursday, 2026 April 2, 10:25 am

फेसबुकबाट तपाईको प्रतिक्रिया