भोलेन्टियर राखेर प्रहरीमा आउने नागरिकको निवेदन आफै लेखिदिनुस् : आईजीपी कार्की

बुटवल । नेपाल प्रहरीका प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले प्रहरी कार्यालयहरूमा बिचौलियाको प्रवेश रोक्न कडाइ गर्न निर्देशन दिएका छन् ।

बुधबार इलाका प्रहरी कार्यालय, बुटवलमा निर्मित महिला बालबालिका तथा ज्येष्ठ नागरिक सेवा केन्द्रको उद्घाटन गर्दै आईजीपी कार्कीले सेवाग्राहीको नाममा प्रहरी कार्यालयमा छिर्ने बिचौलियालाई तत्काल रोक्न मुद्दा चल्ने कार्यालयहरूसँग आग्रह गरेका हुन् ।

आईजीपी कार्कीले समस्या लिएर आउने नागरिकको निवेदन प्रहरी आफैंले लेखिदिन पनि आग्रह गरेका छन् । उनले भने, ‘समस्या लिएर आएका नागरिकको निवेदन लेखिदिने नाममा पैसा असुल्ने, खाजा खाने, घुम्दै डुल्ने प्रवृत्ति आजैदेखि अन्त्य होस् । कार्यालयमा भोलेन्टियर राखेर पनि निवेदन लेख्ने व्यवस्था मिलाउनुहोस् ।’

खल्ती खाली हुनेहरूको वास्तविक सहारा प्रहरी बन्नुपर्ने आईजीपी कार्कीको भनाइ छ । ‘अब पुरानो शैलीले होइन, प्रहरीको बोली, बचन, व्यवहार र कार्यशैली प्ररिवर्तन गरिनुपर्छ । नागरिकका कुरा समयमा सुनेर समयमै सम्बोधनको प्रयत्न होस्,’ उनले भने ।

प्रहरीहरू साधन र स्रोत कमजोर हुँदा पनि जनताको सेवामा समर्पित रहेको स्मरण गर्दै आईजीपी कार्कीले वर्तमान युगमा साधन र स्रोतविना काम गर्न असहज हुने बताए । ‘२१औँ शताब्दीका सबै नागरिकहरूले आधुनिक ग्याजेटसहरू बोकेका छन्, प्रविधिको प्रयोग गरेर अपराध गर्नेहरूको पनि उत्तिकै वृद्धि भइरहेको छ,’ कार्कीले भने ।

Published : Wednesday, 2026 April 1, 9:52 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया