आईजीपीको भावुक सम्बोधन सुनेपछि गृहमन्त्री आफै सिटबाट उठेर बजाए ताली

काठमाडौं । सोमबार दिउँसो ठीक १ बजे, नेपाल प्रहरीको प्रधान कार्यालय परिसर असामान्य रूपमा सक्रिय देखिन्थ्यो । केहीबेरमै, सुधन गुरुङको सवारी भित्रियो ।

सुरक्षाकर्मीहरू तयारी अवस्थामा थिए। गाडी रोकिनासाथ गृहमन्त्री गुरुङ ओर्लिए र औपचारिकता शुरु भयो– प्रहरीको एक टुकडीले अनुशासित ढंगले सलामी अर्पण गर्‍यो । प्रधान कार्यालयमा उपस्थित अधिकारीहरू सतर्क मुद्रामा उभिएका थिए, वातावरणमा औपचारिकता र अपेक्षाको मिश्रण थियो ।

सलामी ग्रहणपछि गृहमन्त्रीले उच्च अधिकृतहरूसँग छोटो भेटघाट गरे । त्यसपछि उनी विभिन्न शाखाहरूको निरीक्षणतर्फ लागे– अपराध अनुसन्धानदेखि डिजिटल फरेन्सिकसम्म । प्रत्येक कक्षमा उनी चासोपूर्वक सुन्दै, सोधपुछ गर्दै अघि बढिरहेका थिए ।

त्यसपछि भएको सम्बोधनमा उनले आफ्ना विगतका अनुभव सम्झिए–तल्लो दर्जाका प्रहरीसँग काम गर्दा भोगेका अभाव, चिउरा र चाउचाउको भरमा ड्यूटी गर्नुपर्ने अवस्था, सीमित स्रोतसाधनमा ठूलो जिम्मेवारी पूरा गर्नुपर्ने बाध्यता ।

उनको स्पष्ट भनाइ थियो– अब यस्तो अवस्था बदलिनेछ । सरकार, पार्टी वा गृह मन्त्रालयबाट अनावश्यक हस्तक्षेप नहुने, कसैले गलत कामका लागि दबाब दिए सिधै आफूलाई जानकारी दिन आग्रह गर्दै उनले ‘आफ्नै पार्टीका भए पनि नछोड्ने’ चेतावनी दिए ।

उनले प्रहरी–नागरिक सम्बन्धलाई ‘मामा–भाञ्जा’ जस्तो आत्मीय बनाउनुपर्ने बताए । सम्मान पारस्परिक हुन्छ भन्दै, सम्मान दुवैतर्फबाट हुनुपर्ने र अपमान सहन नहुने स्पष्ट पारे। प्रहरीको बोली व्यवहार सुधार, मुस्कारासहित सेवाको अभ्यास, र नागरिकसँगको व्यवहारमै परिवर्तन ल्याउनुपर्नेमा उनले जोड दिए ।

गृहमन्त्री गुरुङले प्रहरीलाई आधुनिक र जिम्मेवार बनाउने योजनासमेत अघि सारे– प्रहरी गाडीलाई आपतकालीन अवस्थामा एम्बुलेन्सको रूपमा प्रयोग गर्ने, मेडिकल फस्र्ट रिस्पोन्डर तालिम दिने, ड्रोनमार्फत टियर ग्यास प्रयोग गर्ने र दंगा नियन्त्रणमा आवश्यक सुरक्षा सामग्री बिना प्रहरी नपठाउने ।

भीआईपी र भीभीआईपी सवारीमा ट्राफिक रोकेर नागरिकलाई दुःख नदिनुपर्ने, बढुवा र सरुवा कार्यसम्पादनकै आधारमा हुने, पहुँच र सिफारिसको अन्त्य हुने उनले स्पष्ट पारे ।

प्रहरीको मनोबल बढाउन उनले रासन वृद्धि, राम्रो पोशाक, स्थानीयस्तरमै उत्पादन गर्ने योजना र प्रविधिमैत्री उपकरण उपलब्ध गराउने प्रतिबद्धता पनि व्यक्त गरे । ‘तपाईंहरू जनताको लागि लड्नुस्, म तपाईंहरूको साथमा छु’ भन्दै उनले तल्ला तहका प्रहरीका लागि आफ्नो ढोका खुला रहने आश्वासन दिए ।

कार्यक्रमकै क्रममा आइजीपी दानबहादुर कार्कीले पनि सम्बोधन गरे । उनले प्रहरी संगठनभित्र बढ्दो जागिर छोड्ने समस्या गम्भीर बन्दै गएको उल्लेख गर्दै त्यसको समाधान तत्काल आवश्यक रहेको बताए ।

उनले संगठनलाई टिकाइराख्न २० वर्षे सेवा अवधिको पुनरावलोकन गर्नुपर्ने, सेवा–सुविधा बढाउनुपर्ने र १६ वर्षमै पेन्सनको व्यवस्था गर्नुपर्ने प्रस्ताव अघि सारे ।

यही क्रममा, आफ्नो कुरा राख्दै जाँदा उनी एकाएक भावुक बने । ‘मेरो पुलिसलाई टिकाउन सकिनँ… यही नै समस्या हो,’ भन्दै उनी केही क्षणका लागि स्तब्ध भए । हलमा सन्नाटा छायो । उनका आँखा रसाए–आवाज भारी भयो । त्यो दृश्यले उपस्थित सबैलाई झस्कायो ।

त्यसैबेला, एक अप्रत्याशित क्षण आयो– गृहमन्त्री गुरुङ आफैँ सिटबाट उठे । आइजीको सम्बोधनबाट प्रभावित हुँदै उनले ताली बजाउन शुरु गरे ।

त्यसपछि उनले हलमा उपस्थित सबै प्रहरीलाई पनि उठ्न संकेत गर्दै भने– समर्थन गर्नुस् । केही क्षणमै, सम्पूर्ण हल उभिएर तालीले गुञ्जियो ।

त्यो ताली केवल औपचारिक थिएन– त्यो समर्थन, भावना र पीडाको प्रतिध्वनि जस्तो थियो । तर, ताली सकिएपछि फेरि एकाएक गहिरो सन्नाटा छायो– जसले त्यो क्षणलाई अझ गम्भीर र अर्थपूर्ण बनायो ।

Published : Monday, 2026 March 30, 6:11 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया