राज्यका कुनै पनि निकायबाट प्रेस स्वतन्त्रता संकुचन गर्ने प्रयास भए प्रतिवाद हुन्छ : निर्मला शर्मा

काठमाडौं । नेपाल पत्रकार महासंघकी अध्यक्ष निर्मला शर्माले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको रक्षा र श्रमजीवी पत्रकारको हितमा समर्पित रहेको बताएकी छिन् ।

सोमबार नेपाल पत्रकार महासंघ स्थापनाको ७१औँ वर्षमा प्रवेश गरेको सन्दर्भमा सन्देश जारी गर्दै शर्माले स्थापनाकालदेखि नेतृत्व दिने अग्रजहरूप्रति सम्मान र सहिद पत्रकारहरूप्रति श्रद्धाञ्जलि व्यक्त गरेकी छिन् ।

सात दशक लामो इतिहास बोकेको महासंघले व्यावसायिक पत्रकारितामार्फत लोकतन्त्र र विधिको शासन स्थापनालाई प्राथमिकता दिएको उनले बताएकी छिन् ।

अध्यक्ष शर्माले सूचना प्रविधिको विकाससँगै बढ्दो मिथ्या सूचनाको प्रवाहलाई मुख्य चुनौतीका रूपमा रहेको बताएकी छिन् । उनले भनेकी छिन्, ‘जिम्मेवार पत्रकारिता गर्दै महासंघको मर्यादा उँचो बनाउने र इतिहासको गौरवलाई नयाँ उचाइमा पु¥याउने जिम्मेवारी हाम्रा सामु छ ।’

अध्यक्ष शर्माले नयाँ सरकार गठनसँगै राजनीतिक अस्थिरता अन्त्य हुने बताएकी छिन् । उनले सञ्चारसम्बन्धी कानूनहरू सरोकारवालासँग छलफल गरेर मात्र ल्याउन आग्रह गरेकी छिन् ।

जेनजी आन्दोलनका क्रममा मारमा परेका सञ्चारगृह र पत्रकारहरूलाई क्षतिपूर्ति दिलाउन पनि उनले माग गरेकी छिन् ।

राज्यका कुनै पनि निकायबाट प्रेस स्वतन्त्रता संकुचन गर्ने प्रयास भए त्यसको प्रतिवाद गर्ने उनले बताएकी छिन् । पछिल्लो समय प्रेस स्वतन्त्रता हननका घटना बढेकोमा अध्यक्ष शर्माले चिन्ता व्यक्त गरेकी छिन् । उनले सबै पत्रकारलाई सामाजिक सुरक्षा कोषमा आबद्ध गराउन पहल भइरहेको जानकारी समेत दिइन् ।

अध्यक्ष शर्माले जनताको सही सूचना पाउने अधिकार सुनिश्चित गर्न सबैलाई अपीलसमेत गरेकी छिन् ।

Published : Monday, 2026 March 30, 1:18 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया