प्रधानमन्त्री बालेन्द्रलाई एनआरएनए यूकेको बधाई तथा शुभकामना

लन्डन । गैरआवासीय नेपाली संघ (एनआरएनए) यूकेले नेपालका नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) तथा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को नेतृत्वमा गठित मन्त्रिपरिषदलाई हार्दिक बधाई दिंदै नयाँ जनादेशले देशमा स्थायित्व, पारदर्शिता र समावेशी विकास अघि बढाउने महत्वपूर्ण अवसर प्रदान गरेको जनाएको छ ।

शुक्रबार एनआरएनए यूकेका अध्यक्ष राजेन्द्र पुडासैनी र महासचिव दिवाकर पाण्डेद्वारा संयुक्त रूपमा जारी गरिएको वक्तव्यमा नेपालभित्र तथा विश्वभर रहेका नेपालीहरूले जिम्मेवार नेतृत्वमार्फत राष्ट्रिय एकता, आर्थिक अवसर र सामाजिक प्रगतिको अपेक्षा गरेको उल्लेख छ ।

नेपाल र विश्वभर फैलिएको नेपाली डायस्पोराबीचको सुदृढ साझेदारी राष्ट्रको दीर्घकालीन समृद्धिका लागि अत्यन्त महत्वपूर्ण हुने वक्तव्यमा जनाइएको छ ।

‘नयाँ सरकारसँग विश्वभरका नेपालीहरूको ऊर्जा, सीप र अनुभवलाई उपयोग गर्दै राष्ट्र निर्माणलाई तीव्रता दिने ऐतिहासिक अवसर रहेको छ,’ विज्ञप्तिमा भनिएको छ, ‘विश्वभरका गैरआवासीय नेपालीहरू लगानी, ज्ञान आदानप्रदान, सीप हस्तान्तरण तथा अन्तरराष्ट्रिय सञ्जालमार्फत नेपालको विकासमा योगदान गर्न सदैव तयार छन् ।’

विदेशमा बसोबास गर्ने दोस्रो र तेस्रो पुस्ताका नेपालीहरूसँगको सम्बन्ध सुदृढ बनाउँदै उनीहरूको भाषा, संस्कृति र पहिचानसँगको सम्बन्ध जोगाइराख्नु दीर्घकालीन राष्ट्रिय विकासका लागि महत्वपूर्ण हुने एनआरएनए यूकेले जनाएको छ ।

एक पटकको नेपाली, सधैंको नेपाली भन्ने भावनालाई अझ मजबुत बनाउन नयाँ सरकारले ठोस पहल गर्ने अपेक्षा व्यक्त विज्ञप्तिमा उल्लेख छ ।

भारत र चीनजस्ता उदाउँदा शक्तिहरूबीच अवस्थित नेपालले सन्तुलित, स्वतन्त्र तथा असंलग्न परराष्ट्र नीति अवलम्बन गर्नुपर्ने एनआरएनएले जनाएको छ ।

Published : Friday, 2026 March 27, 8:20 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया