नुहाउने क्रममा आशिष कँडेल देवघाटमा वेपत्ता

टंक पन्त
भरतपुर । अष्ट्रेलियाबाट मास्टर्स गरेर केही दिन अगाडि मात्र नेपाल आएका बुटवल, मिलनचोक स्थायी घर भएका ३० वर्षीय आशिष कँडेल चितवनको देवघाटमा नुहाउने क्रममा भुंवरीमा परी बेपत्ता भएका छन् ।

आमा सीता कँडेल एक्लै रहेको भन्दै उनी नेपालमा काम गर्ने गरी डेढ महिना अघि मात्र स्वदेश फर्किएका थिए । कँडेल आफ्नो धर्म, संस्कृति र संस्कारमा निकै संवेदनशील थिए । कँडेल चैत ५ गते देवघाटमा नुहाउने क्रममा डुबेर बेपत्ता भएका हुन् ।

काठमाडौं कलंकीमा स्थायी रुपमा बसोवास ब्यबस्था गरेकी आमा सीता अर्याल कँडेलसंग चैत ५ गते बिहान नुहाएर बुटवल गएर तीन दिनपछि फर्किने गरी मोवाइलमा कुरा गरेका कँडेल देवघाट नदीमा डुबुल्कीमारेसंगै भुंवरीले बेपत्ता बनाएको परिवारजनले बताएका छन् ।

नुहाएर फर्किने बेला फोन आउला भन्ने आशामा रहेकी आमाले पटक पटक आफैले फोन गर्दा नलागेको तर, एकैचोटी दिउँसो प्रहरीले फोन उठाएर दुर्घटनामा परेको खबर सुनाएपछि आमा सीता कँडेलको हालत अकल्पनीय भयो । सात दिन हुँदासम्म कँडेलको शरीर नभेटिएपछि आमा र उनको परिवार बिछिप्त अबस्थामा छ । नुहाउन जाँदा नदीको किनारमा खोलेर राखेका कपडा, मोवाइल प्रहरीले लिएको थियो । शरीर तत्कालै भेटिएर एउटा प्रक्रियामा जानु र नभेटिनुमा थप पीडादायी हुँदोरहेछ ।

नदीको किनारमा एक घण्टा ध्यान बसेर नदीमा पसेका कँडेल भुंवरीमा पर्नासाथ हातमाथि उठाएर गुहार त मागेका थिए । तर, नुहाउन पुगेका अन्य भक्तजन मात्र होइन बोटेहरू पनि भुंवरी परेको ठाउँमा जान सक्ने अबस्था भएन । हेर्दा हेर्दै कँडेल डुबेको देख्नेहरूले तत्काल प्रहरीलाई खवर गरे । प्रहरी तत्कालै उपस्थित भै उद्धार र खोजीमा लागेको थियो तर, उद्धार संभव भएन ।

सात दिनसम्म उद्धार खोज कार्यमा दख्खल राख्ने सशस्त्र प्रहरीको टोली र आफन्तहरू खोजी कार्यमा निरन्तर लागेपनि कँडेलको शरीर भेटिएको छैन । तालिम प्राप्त सशस्त्र प्रहरीले उद्धारमा कुनै कमी हुन दिएको थिएन । सात दिनसम्म पनि कँडेल नभेटिएपछि पीडैपीडाका वीच परिवार काजक्रिया प्रारंभ गर्ने तयारीमा छ ।

कँडेलकी दिदी आरति धेरै जसो प्रशिद्ध धार्मिक अनुष्ठान क्षेत्र इण्डियामा बस्ने गरेकी छन् । बुवा रामकृष्ण कँडेलको २५ वर्ष अगाडि नै बुटवल खानेपानी अफिसबाट ६ दिने ट्रेडिङका लागि काठमाडौं जाने क्रममा नौविसे नजिक बस दुर्घटनामा परी निधन भएको थियो । छोराछोरी सानै रहँदा श्रीमान् गुमाएकी सीताका लागि छोराको यो घटनाले असैहय मात्र होइन पटक पटक बेहोस हुने, खाना खानै नसक्ने र आँखाले हेर्नै नसक्ने गरी पीडा भैरहेको छ ।

आमा एक्लै जस्तो भएको भनी स्वदेश फर्किएका छोराको घटनाले कँडेल परिवार र आफन्तजनको आँशुले सिङ्गो घरनै भिजे जस्तो भएको छ । अब परिवार जोड्ने, आमाको काखमा बसेर नेपालमै काम गर्ने गरी नेपाल आएको छोरालाई गुमाउनुपर्दाको पीडाले ती आमालाई त सोँच्नै नसक्ने खालको बज्रपात गराएको छ । आफन्तजन सिङ्गो कँडेल परिवार दैवले त्यस्तो लक्का जवान युवालाई कसरी परिवारबाट छुटायो ? यहि प्रश्न रसाइरहेका आँखाबाट आइरहेका छन् । त्यति मात्र कहाँ हो र कँडेलका हजुरबुवा समाजसेवीका रुपमा परिचित कुलानन्द कँडेल बुटवल घरबाट हिंडेको ३५ वर्ष भैसकेको छ । कुलानन्द अहिलेसम्म जीवित छन् वा छैनन् जानकारी छैन । गुल्मी वीरवास बाख्रेबाट बुटवल ओर्लिएपछिको केही वर्षमै घरको मूली व्याक्ति हराउनु त्यसको दुई/तीन वर्षमा खानेपानीमा ओभरसियर रहेका रामकृष्ण कँडेलको दुर्घटनाबाट मृत्यु र अहिले छोराको नदीमा डुवेर भएको मृत्युले सिङ्गो परिवारलाई अधुरो बनाएको छ ।

नदीको किनारमा एक घण्टा मेरिटेशन गरेर नुहाउन पसेका कँडेल पहिलो चरणमा किनार बाहिर आएका थिए । पुनः मेरिटेशन गरेर नुहाउन नदीमा प्रवेश गरेका थिए । दोस्रो पटक डुवुल्की मारेर नुहाएपछि उनलाई अझै चित्त बुझेन । उनी नदीको अझै पल्तिरसम्म पुगेर डुवुल्की मार्दा भुंवरीमा परेको प्रत्यक्षदर्शीले बताएको भनी प्रहरीले जानकारी गराएको छ । सशस्त्र प्रहरी र आफन्तजनले कँडेललाई खोज्न गरेको मेहनत र बज्रपातका समयमा सान्त्वना दिन पुगेका सबै आफन्तजन, शुभेच्छुकलाई शोकमा डुवेको परिवारले धन्यवाद दिएको छ । अति नै असैह्य पीडामा रहेकी काठमाडौं, त्रिपुरेश्वर खानेपानी कार्यालयमा कार्यरत आमा सीता अर्याल कँडेल, दिदी आरती सहित सिङ्गो कँडेल परिवार आफन्तजनमा शोकलाई शक्तिमा बदल्ने शक्ति मिलोस् भन्दै मृतात्माप्रति श्रद्धासुमन ।

Published : Wednesday, 2026 March 25, 8:45 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया