अध्यक्ष डा. शर्माको पहलमा एनआरएनए फ्रान्सको विवाद मिल्यो

लन्डन । गैरआवासीय नेपाली संघ (एनआरएनए) राष्ट्रिय समन्वय परिषदमा पनि एकताको शुरुआत भएको छ । एनआरएनए फ्रान्समा लामो समयदेखि चलेको विवाद अन्त्य भएको छ ।

गैरआवासीय नेपाली संघका अध्यक्ष डा.हेमराज शर्माको उपस्थितिमा आइतबार साँझ भएको भेलाले दिलीप गुरुङको नेतृत्वमा एकीकृत एनआरएनए फ्रान्सको कार्यसमिति चयन गरेको छ ।

अन्तर्राष्ट्रिय समन्वय परिषदको मार्च १४–१६, काठमाडौंमा सम्पन्न १२औँ वृहत् एकता महाधिवेशनपछि डा. शर्मा सर्वसम्मत अध्यक्ष चयन भएका थिए । त्यसपछि समानान्तर गतिविधि गर्दै आएका एनसीसीहरूको एकता प्रक्रिया शुरु भएको हो ।

काठमाडौंमा ‘फेस–टु–फेस’ मिटिङ सकेर अध्यक्ष डा. शर्मा सिधै फ्रान्स पुगेका थिए । फ्रन्समा दिलीप गुरुङ र मीन श्रेष्ठ नेतृत्वको दुई कार्यसमिति मर्ज भएका छन् । समझदारी अनुसार दिलीप गुरुङले एनसीसीको नेतृत्व गर्नेछन् । मीन श्रेष्ठलाई आइसीसी सदस्य बनाउने सहमति भएको छ ।

कार्यसमितिमा वरिष्ठ उपाध्यक्षमा राजेन्द्र श्रेष्ठ र लालबहादुर सोडारी, महासचिवमा राजु बस्नेत, कोषाध्यक्षमा समीक्षा थापा, सचिवमा नीरजचन्द्र सोडारी र जीतकुमार विश्वकर्मा, महिला उपाध्यक्षमा निलिमा शाही र विष्णु शाही, खुल्ला उपाध्यक्षमा सरोज अधिकारी, सह कोषाध्यक्षमा श्रवणकुमार मैनाली, महिला संयोजकमा यमकला पौडेल र किरण चालिसे, युवा संयोजकमा मिलन रसाइली, सदस्यमा मनोज गुरुङ, विष्णु दुवाडी, सन्दीप गुरुङ, रम्भा तामाङ, दीपेन्द्र लामा, कृष्ण महर्जन र रम्ना राई रहेका छन् ।

आइसीसी सदस्यमा लोकबहादुर पुन चयन भएका छन् । शिवराम भण्डारीलाई पछि मनोनयन गर्ने प्रस्ताव गरिएको छ ।

Published : Monday, 2026 March 23, 10:13 am

फेसबुकबाट तपाईको प्रतिक्रिया