कुवेतमा २ तलाबाट महिलालाई धकेल्दा खुट्टा भाँच्चियो, बिक्री गर्ने खड्का कारागार चलान

काठमाडौं । नेपाल प्रहरीको मानव बेचबिखन नियन्त्रण व्यूरो, बबरमहलले सुर्खेतको गर्भाकोट गाउँपालिका ५ बस्ने वर्ष ४८ का शशिराम खड्कालाई पक्राउ गरेको छ ।

व्यूरोको टालीले खड्कालाई चैत २ गते काठमाडौंको टोखा नगरपालिका ५ बाट पक्राउ गरेको प्रेस विज्ञप्तिमा उल्लेख छ । चैत ५ गते काठमाडौं जिल्ला अदालतमा पेश हुँदा थुनछेक आदेशले प्रतिबादी खड्कालाई पुर्पक्षको लागि कारागार कार्यालय, जगन्नाथदेवल पठाइएको प्रहरीले जनाएको छ ।

जाहेरवाला पीडित महिलालाई प्रतिवादी सुशीला थारु समेतले काठमाडौंको टोखा नगरपालिका वडा नं.२६ बिजीमल नजिक रहेको सरु ब्युटी पार्लरमा भेट गरी कुवेत देशमा ब्यूटीपार्लरमा काम गर्ने गरी फ्रि भिसा फ्रि टिकटमा पठाई दिन्छौं भनि प्रलोभनमा पारेका थिए ।

मासिक १२० के.डी.तलब हुन्छ भन्ने समेतको प्रलोभनमा पारी ती महिलालाई २०८२/०३/०४ गते काठमाडौंको नयाँबसपार्कबाट सडकमार्ग हुँदै बुटवल, नेपालगञ्ज हुँदै रुपेडिया नाकाबाट भारतको नयाँ दिल्ली पुर्‍याइएको थियो ।

ती महिलालाई जर्वजस्ती नयाँदिल्लीबाट हवाईमार्गबाट दुवई हुँदै कुवेत पुर्‍याई बेचबिखन गरी बन्धक बनाई घरेलु काममा लगाइएको अनुसन्धानका क्रममा खुलेको प्रहरीले जनाएको छ ।

ती पीडित महिलालाई कुटपीट गरी खाना समेत नदिई शारीरिक तथा मानसिक यातना दिएर राखेको अवस्थामा जाहेरवाली महिलालाई घरधनीले काम गर्न नसकेको भनी २ तले घरबाट धकेलिदिएको थियो । दुई तलामाथिबाट धकेलेर खसेपछि ती महिलाको दुवै खुट्टा भाँचिई घाइते बनाएको अवस्थामा कुवेतको प्रहरीले जाहेरवालीलाई अस्पताल पुर्‍याई उपचार गराई राखेको अवस्थामा कुवेतमा रहेको युवा शक्ति नामक संस्थाको पहलमा मिति २०८२/०८/०९ गते कुवेतबाट नेपाल फर्कन सफल भएको प्रहरीले जनाएको छ ।

मिति २०८२/१०/०८ गतेको पीडित महिलाबाट जाहेरी दर्ता भएपछि वारदातमा संलग्न रहेका प्रतिवादी सुर्खेतको गर्भाकोट गाउँपालिका वडा नं. ०५ बस्ने पलबहादुर खड्काको छोरा वर्ष ४८ को शशिराम खड्का (ना.प्र.प.नं. २४८९६ सुर्खेत)लाई मिति २०८२/१२/०२ गते टोखा नगरपालिका वडा नं. ५ बाट पक्राउ गरी काठमाडौं जिल्ला अदालतको थुनछेक आदेशले प्रतिबादी खड्कालाई पुर्पक्षको लागि कारागार कार्यालय, जगन्नाथदेवल पठाइएको छ ।

Published : Friday, 2026 March 20, 12:06 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया