सर्वोच्चबाट भ्रष्टाचारी ठहर सिंहले क्रियाशील सदस्यहरूलाई दिए कांग्रेस छोड्न चेतावनी
काठमाडौं । सर्वोच्च अदालतबाट भ्रष्टाचारी ठहर भएका नेपाली कांग्रेसका नेता सुरेन्द्रप्रसाद सिंहले क्रियाशील सदस्यहरूलाई पार्टी छाड्न चेतावनी दिएका छन् ।
सामाजिक सञ्जालमार्फत सर्लाही कांग्रेसका नेता एवम् पूर्वसभापति सिंहले क्रियाशील सदस्यहरूले भोट दिएको भन्दै पार्टी छोड्न सुझाव दिएका हुन् । उनले क्रियाशील सदस्यहरूले कांग्रेसलाई नै भोट नदिएको आरोप लगाएका छन् ।
सिंहले लेखेका छन्, ‘रुखमा भोट नदिने नेपाली कांग्रेसका सम्पूर्ण क्रियाशील सदस्यले तत्काल राजीनामा दिएर पार्टी छोड्दा हुन्छ । सबैभन्दा बढी धोकेबाज क्रियाशील सदस्य ।’
सर्लाही कांग्रेसका नेताद्वय सिंह र वीरेन्द्रप्रसाद सिंहले गगनकुमार थापालाई सर्लाही ४ मा निर्वाचनमा प्रतिस्पर्धाका लागि लगेर पराजित गराएर पठाएका छन् । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेदवार अमरेशकुमार सिंहसँग थापा १२ हजार ८ सय ५७ मतको अन्तरबाट पराजित भएका छन् । सिंहका दाजुभाइ र थापाबीच निकै घनिष्ट सम्बन्ध छ ।
यसअघि, सर्वोच्च अदालतबाट भ्रष्टाचारी ठहर भएपछि सिंहले सर्लाही कांग्रेसको सभापति पदबाट राजीनामा दिइसकेका छन् । सर्वोच्चका न्यायाधीश कुमार रेग्मी र महेश शर्मा पौडेलको इजलासले सिंहविरुद्ध परेको पुनरावेदनमा सुनुवाइ गर्दै भ्रष्टाचारी ठहर गरेको थियो ।
सिंहसहितलाई विशेष अदालतले २०७१ पुस २५ गते मनुसमरा सिँचाइ आयोजना क्षेत्रका रुख कटानसम्बन्धी मामिलामा भ्रष्टाचारी ठहर गरेको थियो ।
विशेषको फैसलाविरुद्ध पुनरावेदन गरेका सिंहसहितको सजाय र जरिवाना केही घटाए पनि सर्वोच्चले उनीहरू सबैलाई दोषी ठहर गरेको हो । सिँचाइ आयोजना क्षेत्रमा रहेको सिसौका रुख स्थानीय प्रशासनसँग मिलेर भारततर्फ बेचेको घटनामा सर्वोच्च अदालतले २०८० फागुन १५ मा विशेषले गरेको कैद र जरिवानामा ‘केही उल्टी’ हुने फैसला गरेको थियो । सिंहलाई सर्वोच्चले ९ महिना कैद र १ करोड ४४ लाख ८७ हजार जरिवाना ठहर गरेको छ ।
सिंह त्यसबेला मनुसमरा सिँचाइ आयोजना उपभोक्ता समितिको अध्यक्ष थिए । सिंहले त्यसबेला सिँचाइ आयोजना क्षेत्रमा रहेका सिसौका रुख स्थानीय प्रशासनसँगको पनि मिलेमतोमा कटान गरेर भारततर्फ बेचेको आरोप लागेको थियो । त्यही प्रकरणमा उनीविरुद्ध अख्तियारले विशेष अदालतमा मुद्दा चलाएको थियो ।
यस प्रकरणमा उनलाई अख्तियारले पक्राउ गरेर त्यसबेला हिरासतमा राखेको थियो । विशेष अदालतका अध्यक्ष मोहनरमण भट्टराई तथा सदस्यद्वय भूपेन्द्रप्रसाद राई र महेशप्रसाद पुडासैनीको इजलासले त्यसबेलाका ठेकेदार सिंह र अमिरी राय यादवलाई जनही १ करोड २३ लाख ६ सय रुपियाँ ४ पैसा जरिवाना हुने फैसला गरेको थियो ।
विशेष अदालतले २०७१ पुस २५ गते अख्तियारको भ्रष्टाचार मुद्दामा सुनुवाइ गर्दै यी दुवै ठेकेदारलाई जनही ९ महिना कैद हुने फैसला गरेको थियो ।
ठेकेदारद्वय सिंह र यादवले मनुसमारा सिँचाइ आयोजना सञ्चालन गर्दा रुखहरूले अप्ठेरो पारेको भन्दै त्यस आयोजना वरपरका १८ हजारभन्दा बढी सालका रुख कटान गरेर बेचेका थिए ।
रुख कटान गरी बेचेपछि आम्दानी भएको रकममध्ये केही सरकारी खातामा जम्मा गरिएको थियो । उक्त आम्दानीको अधिकांश रकम दुवैजनाले आफैं लिएर भ्रष्टाचार गरेको आरोप उनीहरूमाथि लागेको थियो ।
बिचार/ब्लग
अपमानित हुँदै गर्दा पनि देउवाले कांग्रेसलाई राष्ट्रियसभामा ठूलो दल बनाए, आज बत्ती बालेर खोज्नु पर्ने भयो
क्रिसु क्षेत्री, लेखक/कुटनीतिज्ञ

फेसबुकबाट तपाईको प्रतिक्रिया