रास्वपाबाट मन्त्री बन्ने सम्भावना र चर्चा क–कसको ? अटाउलान् दीपक ?

काठमाडौं । झण्डै दुईतिहाई बहुमत ल्याएको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले सरकार बनाउने गृहकार्य शुरु गरेको छ ।

वरिष्ठ नेता बालेन्द्र शाह (बालेन)को नेतृत्वमा रास्वपाले सरकार बनाउन लागेको छ । बालेनलाई रास्वपाले प्रधानमन्त्रीका रुपमा निर्वाचनमा प्रस्ताव गरेको थियो । रास्वपाले दुईतिहाईभन्दा दुई सिट मात्र कम ल्याएको छ ।

रास्वपाले १८ सदस्यीय मन्त्रिपरिषद् बनाउने तयारी गरेको एक नेताले बताएका छन् । बढीमा दुई साताभित्रमा सरकार बनाइनेछ । मन्त्री चयन गर्न रास्वपाभित्र आन्तरिक गृहकार्य भइरहेको छ । रास्वपाले विज्ञताका आधारमा मन्त्री बनाउन चाहेको छ ।

स्रोतका अनुसार गृहमन्त्री डोलप्रसाद अर्याल बन्ने प्रारम्भीक सहमति भएको छ । दीपक बोहरा पनि मन्त्रीको सूचीमा अग्रस्थानमा छन् । बोहरालाई गृहमन्त्री बनाउन रास्वपाका सभापति रवि लामिछानेलाई कार्यकर्ताहरूको सुझाव पनि छ । बोहरा कार्यकर्तामाझ लोकप्रिय छन् । रास्वपाका लागि बोहरा उपयुक्त व्यक्ति मानिन्छन् ।

यद्यपि, अन्तरिम सरकारका गृहमन्त्री ओमप्रकाश अर्याल पुनः गृहमन्त्रीमा दोहोरिन चाहेका छन् । मन्त्रिपरिषदबाट प्रधानमन्त्री सुशीला कार्कीले अर्याललाई राष्ट्रिय सभाको सदस्यमा मनोनीत गर्न सिफारिस गरेकी छिन् । अर्यालले गृहमन्त्री बन्न लोभ देखाएपछि रास्वपाका अधिकांश नेता र कार्यकर्ताहरू चकित परेका छन् ।

गृहमन्त्री बन्न राजु पाण्डेले पनि लबिङ गरेका छन् । पाण्डेले आफू निकटका व्यक्तिहरूसँग बालेनले आफूलाई नै गृहमन्त्री बनाउने र आश्वासन दिएको भनेर बोल्न थालेका छन् ।

परराष्ट्रमन्त्रीमा शिशिर खनाल र अर्थमन्त्रीमा स्वर्णिम वाग्लेको नाम चर्चामा छ । अर्थमन्त्रीमा रामेश्वर खनाल पनि दोहोरिन चाहेको चर्चा छ ।

सञ्चारमन्त्रीमा मनीष झाको नाम चर्चामा छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्रीमा विराजभक्त श्रेष्ठ, गणेश पराजुली र डा.धनञ्जय रेग्मीको नाम चर्चामा छ । कानूनमन्त्रीमा सोविता गौतम र यज्ञमणि न्यौपानेको नाम चर्चामा छ । स्वास्थ्य तथा जनसंख्यामन्त्रीमा तोसिमा कार्की र लेखजंग थापाको नाम अगाडि आएको छ । तोसिमा कार्कीले सामाजिक सञ्जालमार्फत आफू स्वास्थ्य क्षेत्रमा देखिएको बेथितिलाई सुधार गर्न चाहेको बताएकी छिन् । तोसिमाले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा रुचि देखाएर लबिङ गरिरहेकी छिन् ।

यसअघि अन्तरिम सरकारमा युवा तथा खेलकुदमन्त्री बनेका बब्लु गुप्ताले पनि मन्त्री बन्न लबिङ शुरु गरेका छन् । शिक्षामन्त्रीमा सस्मित पोखरेलको नाम चर्चामा छ । भौतिक पूर्वाधार, ऊर्जा तथा सहरी विकासमा सुनिल लम्सालको नाम पनि चर्चामा छ ।

सुधन गुरूङ, विपिन आचार्य, लिमा अधिकारी पनि मन्त्री बन्न लबिङमा लागेका छन् ।

Published : Monday, 2026 March 16, 5:39 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया