कांग्रेसद्वारा समानुपातिक २० सांसदको नाम तयार, पहिलो नम्बरमा गगनका ससुरा

काठमाडौं । नेपाली कांग्रेसले समानुपातिकको बन्दसूचीमा रहेकामध्येबाट २० जनाको नाम निर्वाचन आयोगमा बुझाउने भएको छ ।

आइतबार पार्टी कार्यालय सानेपामा बसेको कार्यसम्पादन समितिको बैठकले सिफारिस भएका समानुपातिक सांसदहरूको नाम आयोगमा बुझाउने निर्णय गरेको छ । नामहरू आजै आयोगमा बुझाइनेछ । कांग्रेसले आयोगमा बुझाउने नामहरू सार्वजनिक गरेको छैन ।

आदिवासी जनजातीबाट ६, खसआर्यबाट ६, थारु, दलित, मधेसी, मुस्लिम र पिछडिएको क्षेत्रबाट एक एक गरी ५ जनाको नाम आयोगमा पठाउने निर्णय गरिएको कांग्रेसले जनाएको छ । अन्य तीन जनाको नाम समेत क्लष्टर मिलाएर पठाइनेछ ।

सिफारिस हुने सांसदहरूमध्ये १५ जना महिलाको नाम अनिवार्य रूपमा आयोगमा पठाइनेछ । निर्वाचन आयोगले समानुपातिकमा पाएको मतका आधारमा सांसद संख्याको कोटा तोकेर नाम बुझाउन भनेको छ ।

स्रोतका अनुसार गगनकुमार थापाका ससुरा अर्जुन नरसिंह केसीको नाम खसआर्यको सूचीमा पहिलो नम्बरमा रहेको छ । गगनले आफ्ना ससुरालाई संसदीय दलको नेतामा प्रस्ताव गर्ने समेत तयारी गरेका छन् ।

गगन सर्लाही ४ बाट लज्जास्पद नतिजाका साथ पराजित भएका छन् । गगनलाई ५ वर्षका लागि संसदमा प्रवेश गर्ने ढोका बन्द भएको छ । कांग्रेसलाई पनि इतिहासकै लज्जास्पद अवस्थामा हराएका छन् ।

समानुपातिकमा सिफारिस भएका नामहरूमा विवाद हुने र आलोचना बढ्न सक्ने भन्दै गगनले नामहरू तत्काल सार्वजनिक गर्न दिएका छैनन् । ती नामहरू निर्वाचन आयोगलाई नै सार्वजनिक गर्न दिइएको छ ।

Published : Sunday, 2026 March 15, 4:31 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया