पर्यटन मन्त्रालयका लागि किन आवश्यक छ पर्यटन क्षेत्रकै अनुभवी नेतृत्व ?

काठमाडौं । नेपाल प्राकृतिक सौन्दर्य, हिमाल, सांस्कृतिक सम्पदा, धार्मिक तीर्थस्थल तथा साहसिक पर्यटनका कारण विश्व पर्यटन नक्सामा विशेष स्थान राख्ने देश हो । पर्यटन नेपालको अर्थतन्त्रको प्रमुख स्तम्भमध्ये एक मानिन्छ । लाखौँ मानिस प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा यस उद्योगमा आश्रित छन् । त्यसैले पर्यटन क्षेत्रलाई सही दिशा दिने नेतृत्वको प्रश्न सधैं महत्वपूर्ण विषय बन्ने गरेको छ ।

हाल नेपालको पर्यटन मन्त्रालयको नेतृत्व कसले सम्हाल्न सक्छ भन्ने विषयमा विभिन्न वृत्तमा चर्चा हुँदै आएको छ । विशेषगरी राष्ट्रिय स्वतन्त्र पार्टीका नेता विराजभक्त श्रेष्ठ र पर्यटन विज्ञ डा.धनञ्जय रेग्मीको नाम चर्चामा आउने गरेको छ ।

विराजभक्त श्रेष्ठ २०२२ को प्रतिनिधिसभा निर्वाचनमा काठमाडौं–८ बाट निर्वाचित सांसद हुन् । उनले करिब पाँच हजार मतान्तरले विजय हासिल गरेका थिए । उनले ६ मार्च २०२४ देखि जुलाई २०२४ सम्म युवा तथा खेलकुदमन्त्रीको जिम्मेवारी पनि सम्हालेका थिए । यस आधारमा श्रेष्ठसँग राष्ट्रिय राजनीति र मन्त्रिपरिषदस्तरको प्रशासनिक अनुभव रहेको देखिन्छ ।

अर्कोतर्फ डा.धनञ्जय रेग्मी पर्यटन क्षेत्रका विज्ञ तथा नेपाल पर्यटन बोर्डका पूर्व प्रमुख कार्यकारी अधिकृत हुन् । उनले लामो समयदेखि नेपालको पर्यटन विकास, हिमाली वातावरण तथा पर्यटन नीतिका विषयमा अध्ययन–अनुसन्धान र व्यावहारिक काम गर्दै आएका छन् ।

नेपाल पर्यटन बोर्डमा कार्यरत रहँदा उनले करिब सात जना पर्यटनमन्त्री तथा मन्त्रालयका सचिवहरूसँग प्रत्यक्ष रूपमा काम गरेका थिए । यस अनुभवले पर्यटन क्षेत्रमा रहेका नीतिगत अवरोध, प्रशासनिक जटिलता तथा कार्यान्वयनका समस्याबारे उनलाई गहिरो बुझाइ दिएको पर्यटन क्षेत्रका जानकारहरू बताउँछन् ।

डा.रेग्मीले पर्यटन क्षेत्रको निजी क्षेत्रसँग पनि लामो समयदेखि सहकार्य गर्दै सरकार र निजी क्षेत्रबीच सेतुको भूमिका निर्वाह गरेका थिए । होटल व्यवसायी, ट्राभल तथा ट्रेकिङ कम्पनी, एभिएसन क्षेत्र तथा पर्यटनसँग सम्बन्धित विभिन्न व्यवसायिक संघसंस्थासँग डा.रेग्मीको प्रत्यक्ष समन्वय रहेको बताइन्छ । यस कारण पर्यटन उद्योगका व्यावहारिक समस्या र सम्भावनाबारे उनको स्पष्ट बुझाइ रहेको मानिन्छ ।

कोभिड–१९ महामारीको समयमा पर्यटन क्षेत्र लगभग ठप्प भएको थियो । पर्यटक आगमन लगभग शून्यमा झरेको अवस्थामा नेपाल पर्यटन बोर्डको आम्दानी पनि अत्यन्त न्यून भएको थियो । यस्तो कठिन परिस्थितिमा पनि डा.रेग्मीले संस्थालाई प्रभावकारी रूपमा सञ्चालन गर्न सफल भएको उल्लेख गरिन्छ ।

त्यस समयमा उनले संयुक्त राष्ट्रसंघको विकास कार्यक्रम (युएनडीपी)सँग सहकार्य गर्दै विभिन्न कार्यक्रम सञ्चालन गरी पर्यटन बोर्डलाई सक्रिय राख्ने तथा पर्यटन क्षेत्रका सरोकारवालालाई सहयोग पुर्‍याउने पहल गरेका थिए । सीमित स्रोतसाधनका बाबजुद अन्तर्राष्ट्रिय सहकार्यमार्फत संस्थालाई सञ्चालनमा राख्ने उनको क्षमता प्रशासनिक नेतृत्वको उदाहरणका रूपमा लिइन्छ ।

अन्तर्राष्ट्रियस्तरमा पनि डा. रेग्मीले उल्लेखनीय मान्यता प्राप्त गरेका छन् । कोभिड–१९ महामारीका बेला नेपालका विभिन्न स्थानमा अलपत्र परेका विदेशी नागरिकहरूको उद्धार तथा स्वदेश फर्काउने कार्यमा उनले महत्वपूर्ण भूमिका खेलेका थिए । सो योगदानका लागि बेलायतबाट गोल्ड अवार्ड प्रदान गरिएको थियो ।

त्यसैगरी अन्तर्राष्ट्रिय पर्यटन संस्थाले पर्यटन क्षेत्रमा ६ हजारभन्दा बढी रोजगारी सिर्जना गर्न योगदान दिएको भन्दै उनलाई “म्यान अफ द इयर” सम्मान प्रदान गरेको थियो ।

नेपालको पर्यटन क्षेत्र अहिले विभिन्न चुनौतीहरूको सामना गरिरहेको छ । राष्ट्रिय ध्वजावाहक नेपाल एयरलाइन्सलाई प्रभावकारी रूपमा सञ्चालन गर्ने, नेपालको उड्डयन क्षेत्रलाई युरोपेली संघको कालोसूचीबाट हटाउने तथा पर्यटन विकासमा बाधा पु¥याइरहेका विभिन्न नीति तथा कानूनी प्रावधान सुधार गर्ने विषय महत्वपूर्ण मानिन्छ ।

यससँगै पोखरा अन्तर्राष्ट्रिय विमानस्थल र गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थललाई प्रभावकारी रूपमा सञ्चालन गर्नु पनि सरकारका लागि प्रमुख चुनौती बनेको छ । पर्यटन बोर्डको नेतृत्वमा रहँदा डा.रेग्मीले पोखरामा चार्टर उडानमार्फत विदेशी पर्यटक ल्याउने पहल सुरु गरेका थिए । यस अनुभवका आधारमा यी विमानस्थलहरूलाई अन्तर्राष्ट्रिय पर्यटनसँग जोड्न उनले महत्वपूर्ण भूमिका खेल्न सक्ने अपेक्षा गरिएको छ ।

यति एयरलाइन्सको दुर्घटनापछि पोखराको पर्यटन क्षेत्रमा परेको नकारात्मक प्रभावलाई कम गर्न पनि डा.रेग्मीले सक्रिय भूमिका खेलेका थिए । पोखराको पर्यटनलाई पुनर्जीवित गर्न उनले विभिन्न अन्तर्राष्ट्रिय कार्यक्रमहरू आयोजना गर्न पहल गरेका थिए ।

उनको पहलमा ‘पाटा’ वार्षिक सम्मेलन, साहसिक यात्रा मार्ट, जलवायु परिवर्तन र पर्वतीय पर्यटन अन्तर्राष्ट्रिय सम्मेलन, ड्र्यागन बोट महोत्सव, क्रस कन्ट्री म्याराथन, “नेपालमा आफ्नो चिनियाँ नयाँ वर्ष मनाउनुहोस” कार्यक्रम तथा अन्तर्राष्ट्रिय योग दिवस समारोह जस्ता गतिविधिहरू आयोजना गरिएको थियो । यी कार्यक्रमहरूले पोखरालाई पुनः अन्तर्राष्ट्रिय पर्यटन नक्सामा सक्रिय बनाउन मद्दत गरेको पर्यटन क्षेत्रका जानकारहरू बताउँछन् ।

डा.रेग्मीले नेपालको पर्यटन विस्तारका लागि दीर्घकालीन अवधारणा पनि अघि सारेका छन् । उनले नेपालका विभिन्न क्षेत्रमा अन्तर्राष्ट्रियस्तरका ६ वटा हिल स्टेशन विकास गर्ने योजना प्रस्तुत गरेका छन् । साथै जनकपुर क्षेत्रलाई धार्मिक तथा सांस्कृतिक पर्यटनको विशेष केन्द्रको रूपमा विकास गर्ने पृथक अवधारणा पनि उनले अघि सारेका छन् ।

विश्लेषकहरूका अनुसार विराजभक्त श्रेष्ठ राजनीतिक रूपमा स्थापित नेता भए पनि पर्यटन क्षेत्रको प्रत्यक्ष अनुभव, अन्तर्राष्ट्रिय नेटवर्क तथा पर्यटन उद्योगको गहिरो बुझाइका आधारमा डा.रेग्मीलाई पर्यटन क्षेत्रको विशेषज्ञ नेतृत्वका रूपमा हेरिन्छ ।

नेपालजस्तो पर्यटनमा अत्यन्त ठूलो सम्भावना भएको देशमा पर्यटन मन्त्रालयको नेतृत्व गर्ने व्यक्तिमा क्षेत्रगत ज्ञान, अन्तर्राष्ट्रिय सम्पर्क, निजी क्षेत्रसँगको सहकार्य तथा स्पष्ट दीर्घकालीन दृष्टिकोण अत्यन्त महत्वपूर्ण हुने विज्ञहरूको भनाइ छ ।

सरकारसँग अहिले स्पष्ट बहुमत रहेको र जनतामा विकासप्रति ठूलो अपेक्षा रहेको अवस्थामा पर्यटन क्षेत्रलाई रणनीतिक रूपमा अगाडि बढाउने नेतृत्व आवश्यक भएको विश्लेषण गरिन्छ ।

यस दृष्टिकोणबाट हेर्दा स्पष्ट दृष्टिकोण, अन्तर्राष्ट्रिय अनुभव र पर्यटन क्षेत्रको गहिरो बुझाइ भएका व्यक्तिले नेतृत्व पाए नेपालको पर्यटन उद्योगलाई नयाँ उचाइँमा पुर्‍याउन सकिने विश्वास व्यक्त गरिएको छ ।

Published : Sunday, 2026 March 15, 10:45 am

फेसबुकबाट तपाईको प्रतिक्रिया